समाचार साहित्य / लेख रचना

नेपाल भारत साहित्य महोत्सवमा लघकुथा वाचन

सप्तरी, ५ चैत । विराटनगरमा सुरु भएको नेपाल भारत साहित्य महोत्सवको पहिलो सत्रमा लघकुथा वाचन सम्पन्न भएको छ । भाषा साहित्यका माध्यमबाट नेपाल र भारतबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यका साथ साहित्य महोत्सव गरिएको हो ।
नेपाल भारत साहित्य यात्राको चौथो संस्करणको रुपमा आयोजित त्रिदीवसीय महोत्सवको पहिलो सत्रमा नेपाल र भारतका १४ जना सर्जकले लघुकथा वाचन गरे ।
नेपालका डा. बलराम उपाध्याय, चुडामणी नेपाल अकिञ्चन, निरज कोइराला, पुष्पा सायरा र श्रीप्रसाद पोखरेलले नेपाली लघुकथा वाचन गरेका हुन् ।

यसैगरी भारतका निता चौधरी, रञ्जना सिंह, राजेन्द्र पुरोहित, प्रेमलता सिंह राजपुत, मिरा प्रकाश, ओमप्रकाश क्षत्रिय, सीमा वर्णिका र हेमलता शर्माले हिन्दीमा लघुकथा वाचन गरे । नेपालका मनोहर पोखरेलले नेपाली र हिन्दीमा दुई लघुकथा वाचन गरे ।
भारतकी वरिष्ठ हिन्दी लघुकथाकार विभा रानी श्रीवास्तवको अध्यक्षतामा भएको कार्यक्रमको संयोजन र सञ्चालन नेपालका डा. पुष्करराज भट्टले गरेका थिए ।
विराटनगर महानगरपालिका र क्रान्तिधारा साहित्य एकेडेमी मेरठ भारतद्वारा आयोजित महोत्सवमा नेपाल–भारतका साहित्य, कला सांस्कृतिक क्षेत्रका चार सय जनाको सहभागिता रहेको छ ।
महोत्सवको उद्घाटन कोशी प्रदेशका पूर्वप्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्वाहाङले गरेका थिए । प्रमुख अतिथि तुम्वाहाङ र विराटनगर महानगरपालिकाका नगर प्रमुख नागेश कोइरालाले समाज निर्माणमा साहित्यको ठूलो भूमिका रहने र यसलाई भूगोल र सीमाले रोक्न नसक्ने विचार व्यक्त गरे ।

वरिष्ठ साहित्यकार समालोचक दधिराज सुवेदी, गजलकार डा. घनश्याम न्यौपाने परिश्रमी, क्रान्तिधर एकेडेमीका अध्यक्ष डा विजय पण्डित, साहित्यकारहरु करुणा झा, देवी पन्थी, गङ्गा सुवेदी र विराटनगर महानगरपालिका प्रमुखका प्रेस सल्लाहकार मीनकुमार नवोदितले साहित्यकै माध्यमबाट दुई देशबीचको सम्बन्ध जनस्तरमा पुग्ने विचार व्यक्त गरे ।
महोत्सवअन्तर्गत लघुकथा वाचन, पुस्तक प्रदर्शनी, साहित्यिक परिचर्चा, पुस्तक विमोचन, वरिष्ठ लेखक एवम् संस्कृतिकर्मीसंग साक्षात्कार, बहुभाषिक कवि गोष्ठी, अनुवाद सत्र, साँस्कृतिक कार्यक्रम, स्मारिका प्रकाशन र सम्मान समारोह भएका छन् ।
महोत्सवको अन्त्यमा १० बुंदे विराटनगर घोषणापत्र जारी गरिएको छ । महोत्सवका माध्यमबाट दुई देशबीचको सम्बन्ध सुदृढ हुने र पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास लिइएको छ ।
वरिष्ठ साहित्यकार विवश पोखरेलको अध्यक्षता र विराटनगर महानगरपालिका प्रमुख कोइरालाको प्रमुख आतिथ्तामा आइतबार समापन समारोह सम्पन्न भएको छ ।

यसअघि २०७९ बैशाख १६–१८ सम्म काठमाडौंमा नेपाल–भारत साहित्य महोत्सव २०२२ सम्पन्न भएको थियो ।
नेपालमा पहिलो र दोस्रो महोत्सव वीरगन्जमा भएको थियो । भेलाले आगामी महोत्सव कास्कीको पोखरामा गर्ने निर्णय गरेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page