खेलकुद

पाँचौ संस्करणको सप्तरी प्रिमियर लिगको उपाधि बजाज खडक वारियलाई

कञ्चनरूप, ११ असार । सप्तरीको राजविराजमा सम्पन्न पाँचौ संस्करणको सप्तरी प्रिमियर लिगको उपाधि बजाज खडक वारियर्सले जितेको छ। खडक वारियर्सले तेस्रो पटक लिगको उपाधि जित्दै नगद तीन लाख रुपियाँ हात पारेको हो ।
प्रतिस्पर्धात्मक खेलमा ३ बल बाँकी रहंदा बजाज खडक वारियर्सले १४५ रनको लक्ष्य पूरा गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो।
लक्ष्य पछ्याउने क्रममा ५८ रनमा ४ विकेट गुमाएको अवस्थामा पाँचौ नम्बरमा ब्याटिंग गरेका बिशाल सुश्लिंगले विकेट नगुमाई ब्याटिंग गर्दै टिमलाई जितसम्म पुर्‍याएका हुन्। सुश्लिंगले ३३ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै अविजित ४६ रन बनाए ।
सुश्लिंगले पाँचौ विकेटको लागि बिवेक यादवसँग ३० रन, छैठौं विकेटको लागि दिनेश अधिकारीसँग ३६ रन तथा सातौँ विकेटको लागि अनिल यादवसँग अविजित २२ रनको साझेदारी गरे ।
रोमाञ्चक खेलको अन्तिम ८ बलमा २० रन आवश्यक हुँदा राशिद खानले १९ औं ओभरको अन्तिम २ बलमा अनिल यादवले लगातार २ चौका प्रहार गरे । अन्तिम ओभरमा १२ रन आवस्यक रहदा पप्पु यादवको पहिलो बलमा २ रन लिएका विशाल सुश्लिंगले दोस्रो बलमा चौका र तेस्रो बलमा छक्का प्रहार गर्दै टिमलाई जित दिलाएका हुन् ।
खडक वारियर्सका ओपनर साहिल पटेलले २१, राज वर्माले १७ तथा कर्ण बिक, सन्दिप रजालीले समान १४ रन तथा अनिल यादवले अविजित ९ रन बनाए । कञ्चनरुपको बलिंगमा चित्र बिष्टले सर्वाधिक ३ विकेट लिए भने राशिद खान, नारायण जोशी र पप्पु यादवले समान १/१ विकेट लिए ।
यस अघि टस हारेर ब्याटिंग गरेको कञ्चनरुप राइनोजले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १४५ रन बनाएको थियो ।
कञ्चनरुपको लागि ओपनर दिलिप नाथले सर्वाधिक ४२ रनको योगदान दिए । यस क्रममा उनले २२ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । यस्तै नारायण जोशीले २७, सुमित श्रेष्ठले १७ तथा अमित यादवले १६ रन बनाए।
बजाज खडक वारियर्सको बलिंगमा कप्तान बिबेक यादवले सर्वाधिक ४ विकेट लिए । उनले ४ ओभर बलिंग गर्दै २५ रन खर्चिए । गोमानन्द अमात्यले २ तथा अनिल यादव र दिनेश अधिकारीले १÷१ विकेट लिए।
प्रतियोगिताको उपाधिसहित बजाज खडक वारियर्सले तीन लाख र उपविजेता कञ्चनरुप राइनोजले १ लाख ५० हजार रुपियाँ हात पारेको छ । प्लेयर अफ द सिरिज घोषित कञ्चनरुप राइनोजका राशिद खानले २५ हजार रुपैयाँ प्राप्त गरेका छन ।
यस्तै उत्कृष्ट ब्याट्सम्यान छिन्नमस्ता लायन्सका शुभ कंसाकार तथा उत्कृष्ट बलर खडक वारियर्सका दिनेश अधिकारी घोषित भए । उत्कृष्ट ब्याट्सम्यान र बलरले समान १५ हजार रुपियाँ पाए ।
यस्तै प्रतियोगिताको उदयमान खेलाडी बलान बिहुल सुपर किंग्सका विशाल यादव घोषित भए जसले क्रिकेट किट प्राप्त गरे ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page