शिक्षा समाचार

लिटिल फ्लावरद्वारा ५९ औं राष्ट्रिय बाल दिवसको अवसरमा नृत्य प्रतियोगिताको आयोजना

कञ्चनरुप, २९ भदौ । “बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने मुलनारा सहित ५९ औं राष्ट्रिय बाल दिवस २०८० को अवसरमा सप्तरीको कञ्चनरुप नगरपालिकाका विद्यालयहरुले विभिन्न कार्यक्रमहरुको आयोजना गरी बाल दिवस मनाएका छन् ।
विद्यालयहरूले ब्यानर, प्लेकार्डको साथमा नारा लगाउँदै वृहत् र्‍यालीद्धारा परिक्रमासहित मौलिक प्रतियोगितात्मक कार्यक्रमको आयोजना गरी बाल दिवस मनाएका हुन् ।
सोही अवसरमा लिटिल फ्लावर सेकेण्डरी स्कुल कञ्चनरुप १२, रुपनगर सप्तरीले शुक्रबार राष्ट्रिय बाल दिवसको अवसरमा नृत्य प्रतियोगिता सम्पन्न गरेको छ ।

सो प्रतियोगितामा छिट्को सारी भन्ने गीतको बोलमा श्रृषा अधिकारी प्रथम, घिन्ताङ्ग मादल बज्यो भन्ने गीतको बोलमा एलिशा श्रेष्ठ द्वितीय, घमाइलो रमाइलो भन्ने गीतको बोलमा सम्भाविक जिसी तृतीय भएका थिए ।
त्यसैगरी हावासँगै उडौ भन्ने गीतको बोलमा युदिन खवासको ग्रुप, यो नेपाली शिर उचाली भन्ने गीतको बोलमा उपासना तिमलसिना र बालकैमा दिल बस्यो गौथली भन्ने गीतको बोलमा दिक्षिता पोखरेलको ग्रुप सान्तव्ना भएका थिए ।
विजयी प्रतियोगिहरुलाई पुरस्कार स्वरुप मेडल र कप प्रदान गरिएको थियो ।

सो कार्यक्रममा बोल्दै वडा नम्बर १२ का वडा सदस्य जैनुदिन मियाँले आजका बालबालिका भोलिका कर्णाधार भएकाले सबैले गुणस्तरीय शिक्षाका लागि शिक्षा क्षेत्रमा लगानि गर्नुपर्ने बताए । बालबालिकाको हककितको लागि आफु सदैव लागिरहने समेत बताए ।
विद्यालयका प्रधानाध्यापक शान्त अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
त्यस्तै आरडी मेमोरियल स्कुल कञ्चनरुप ९ ले समेत विभिन्न कार्यक्रमको आयोजना गरी बाल दिवस मनाएको छ ।
बाल अधिकार सुनिश्चित गरौं, बाल श्रम अन्त्य गरौं, छोराछोरीलाई विद्यालय पठाऔं भन्ने नाराका साथ विद्यालय प्राङ्गणबाट निस्किएको र्‍याली रुपनगर, धरमपुर परिक्रमा गरी विद्यालयमा गएर समापन गरिएको थियो ।

त्यस्तै हाडी फोर, भाले जुधाई, बेलुन फुटाउने, साइकल रेस, बोतल ब्यालेन्स, चकलेट खाने, दुई सय मिटर दौड जस्ता खेल समेत खेलाइएको र नृत्य समेत प्रस्तुत गरिएको विद्यालयका प्रकाश दासले बताउनु भयो । विजयीहरुलाई पुरस्कार समेत वितरण गरिएको विद्यालयले जनाएको छ ।
त्यसैगरी सुनाखरी इङ्गलिस बोर्डिङ्ग स्कुल कञ्चनरुप १२, दौलतपुरले वक्तृत्वकला प्रतियोगिताको आयोजना गरी बाल दिवस मनाएको छ ।
वक्तृत्वकलामा कक्षा ६ की छात्रा विविसा श्रेष्ठ प्रथम, कक्षा ९ का छात्र सन्तन महतो द्वितीय र कक्षा ६ की छात्रा गीता मेहता तृतीय भएको शिक्षक विनोद महतोले बताउनु भयो ।
विजयी छात्रछात्रालाई विद्यालयका प्रधानाध्यापक पुष्प कार्कीले पुरस्कार प्रदान गर्नुभएको थियो ।

दिवसको अवसरमा सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले आज सप्तरी जिल्ला भर विभिन्न कार्यक्रम गरि मनाएका छन् ।
नेपालले बालअधिकार सम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बाल सहभागिता जस्ता विषयमा आफ्नो अन्तर्रा्ष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page