समाचार

राष्ट्रपतिले कैद मिनाहा गरेका व्यक्तिले जेलमुक्त भएको २५ दिनमा गरे महिलाको हत्या

काठमाडौँ । संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट बाँकी कैद मिनाहा गरिएका रुकुम पश्चिममा एक व्यक्तिले जेलमुक्त भएको २५ दिनमा एक महिलाको हत्या गरेका छन्।
गत असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट कैद माफी पाएका रुकुम पश्चिम सानीभेरी गाउँपालिका–९ का लोकेन्द्र भनिने लोकबहादुर विक मुसीकोट–७ साँखकी २७ वर्षीया भावना विकको हत्या आरोपमा पक्राउ परेका छन् ।
मंगलबार मृत फेला परेको भावनाको हत्या स्विकारेको डिएसपी नमराज भट्टराईले बताएका छन् । बिकले होटेलमा लिएर भावनाको हत्या गरेको प्रहरीले जानकारी दिएको छ।
उनै लोकबहादुरले कैदमुक्त भएको २५ दिनपछि असोज २९ गते सोमबार भावनालाई मुसीकोट नगरपालिका–१ खलंगा बजारको होटेल सत्कारमा हत्या गरेको प्रहरीको दाबी छ।
लोकबहादुरले भावनाको घाँटीमा धारिलो चक्कु प्रयोग हत्या गरेको डिएसपी भट्टराईले बताउनुभयो । अनैतिक सम्बन्ध र आर्थिक लेनदेनको कारण हत्या भएको प्रहरीको भनाई छ।मृतकको श्रीमान् र हत्या आरोपीको श्रीमती हाल वैदेशिक रोजगारीमा रहेको बताईन्छ।
प्रहरीले घटनास्थलबाट धारिलो चक्कु, चक्कुको खोल, नगद ८५ हजार ८३५ रुपियाँ र प्रतिवादीको मोबाइलसमेत बरामद गरेको छ।
बहुविवाह मुद्दामा ६ महिना कैद भुक्तान गरेर संविधान दिवसका अवसरमा सजाय माफी पाएर उनी रिहा भएका थिए ।
प्रहरीले लोकबहादुरविरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरेर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page