समाचार

सप्तरी प्रशासनद्वारा राति ९ बजेसम्म मात्र देउसी खेल्न अनुरोध

कञ्चनरुप, २७ कार्तिक । सप्तरी जिल्लामा राती ९ बजेसम्म मात्र देउसी तथा नाचगान सभ्य र शान्तिपूर्ण तवरले खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले जारी गरेको सार्वजनिक सूचनामा यस्तो उल्लेख गरिएको छ ।
कसैले सूचनाको अवज्ञा गरी कानुन विपरीतका कार्य गरे वा गरेको पाइए प्रचलित कानुनबमोजिम कारबाही गर्ने पनि प्रशासनले चेतावनी दिएको छ ।
प्रमुख जिल्ला अधिकारी किरण थापाद्धारा जारी सूचनामा भूइचम्पा, पटाका आतिशबाजी जस्ता विष्फोटक र ज्वलनशील मालवस्तु र पदार्थको प्रयोगले आगलागी, धनजनमा क्षति हुनसक्ने सम्भावना हुने भएकोले त्यस्ता विष्फोटक पदार्थको ओसार पसार, खरिद बिक्री नगर्न पनि आग्रह गरिएको छ ।
त्यस्तै तिहार छठ लगायतका पर्वमा प्लाष्टिकजन्य फूल गुच्छा आयात, निर्यात, बिक्री वितरण वा भण्डार नगर्नु नगराउनुहुन प्रशासनले आग्रह गरेको छ ।
पर्वमा जुवा, तास, लंगुरबुर्जा खेल्ने खेलाउने कार्य कोही कसैबाट नगर्न तथा मादक पदार्थ सेवन गरी हो हल्ला, झैं झगडा गरी शान्ति सुव्यवस्था खल्वलाउने लगायतका गैर कानूनी गतिविधी भएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गर्ने सूचनामा उल्लेख छ ।
साथै प्रशासनले २०८० सालको शुभ दिपावली (तिहार), नेपाल सम्वत र छठ लगायत चाडपर्वको उपलक्ष्यमा आपसी सद्भाव एवम् सौहार्दताका साथ मर्यादित तवरले मनाउनुहुन सम्पूर्ण जिल्लावासीहरुमा अनुरोध गर्दै हार्दिक शुभकामना व्यक्त गरेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page