खेलकुद

राष्ट्रिय क्रिकेट खेलाडी विवेक यादवलाई गृह जिल्ला सप्तरीमा सम्मान

कञ्चनरुप, ५ मंसिर । नेपाल राष्ट्रिय क्रिकेट टोलीका खेलाडी विवेक कुमार यादवलाई एक कार्यक्रमबीच गृह जिल्ला सप्तरीमा सम्मान गरिएको छ ।
नेपालले टी–२० विश्वकपमा स्थान बनाउँदा क्रिकेट खेलाडी यादवले उत्कृष्ट प्रदर्शन गरेको भन्दै सप्तरी जिल्ला खेलकुद विकास समिति तथा सप्तरी क्रिकेट संघले मंगलबार उनलाई सम्मान गरेको हो ।
टी २० विश्वकप छनोट खेलमा उत्कृष्ट प्रदर्शन गरेका यादवलाई प्रमुख अतिथि मधेस प्रदेशका शिक्षा तथा समाजकल्याण मन्त्री महेश प्रसाद यादवले नगद ५ हजार १ सय राशीको नगद पुरस्कारसहित प्रमाणपत्र , दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।
क्रिकेट खेलको माध्यमबाट यादवले सप्तरीसहित देशको मानसम्मान अन्तर्राष्ट्रिय क्षेत्रमा विस्तार गरेको उल्लेख गर्दै उनलाई सम्मान गरिएको खेलकुद विकास समितिका कार्यालय प्रमुख दिनेश भुजेलले बताउनु भयो । राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर यादवको हौसला बढाउनका लागि अभिनन्दन गरिएको उहाँले बताउनुभयो ।

नेपाल १० वर्षपछि टी २० विश्वकपमा छनोट हुँदा उदाएका खेलाडी हुन्– विवेक यादव । टी २० विश्वकप छनोटका ३ खेलमा मात्र ४२ रन बनाएका थिए । उनले त्यसै मध्येको एक खेलमा बलिङ गरेर १ विकेट समेत हात पारेका थिए ।
सप्तरी जिल्ला निवासी विवेक कुमार यादवले नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रतिनिधित्व गर्दै नेपाललाई टि २० विश्वकपका लागि छ्नौट भइ विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
त्यसैगरी सप्तरी निवासी राष्ट्रिय भारोत्तोलन खेलाडी यादव संजयलाई पनि सम्मान गरिएको छ । संजयले भारतमा आयोजित एशियन युथ र जुनियर भारोत्तोलन च्याम्पियनसिप २०२३ मा सहभागी भई चौथो स्थान हाँसिल गरेका थिए ।
खेलकुद विकास समितिका कार्यालय प्रमुख दिनेश भुजेलको अध्यक्षतमा आयोजित कार्यक्रममा क्रिकेट संघका केन्द्रिय सदस्य एवम् सप्तरी अध्यक्ष आयुष श्रेष्ठ, जिल्ला फुटबल संघ सप्तरीका अध्यक्ष राज कुमार परियार, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देव, नेपाल पत्रकार महासंघ सप्तरीका प्रदेश परिषद सदस्य बृजमान तामाङ, विभिन्न विधाका प्रशिक्षक तथा खेलाडीहरुको उपस्थिति रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page