धर्म संस्कृति समाचार

राजविराजमा जगन्नाथ रथयात्रा, हजारौंँ सहभागी

राजविराज, ३० मंसिर । सप्तरीको राजविराजमा सुख, शान्ति तथा मानव कल्याणको कामना गर्दै शनिबार जगन्नाथ रथयात्रा निकालिएको छ । राजविराज नगरपालिका ७ स्थित लक्ष्मीनारायण राधाकृष्ण मन्दिरबाट धुमधामका साथ रथयात्रा निकालिएको हो ।
तीन दिनको भजनकीर्तन र कथा वाचन पश्चात राधाकृष्ण मन्दिरबाट निकालिएको रथमा श्रीकृष्ण, बलभद्र र शुभद्राको मूर्ति राखिएको छ । उक्त रथयात्रा दर्शन गर्न र रथको डोरी तान्न श्रद्धालुहरूको भीड लागेको थियो । जगन्नाथ रथयात्रा राजविराजको मुख्य बजार क्षेत्र हुँदै पुनः राधाकृष्ण मन्दिरमा पुगेर समाप्त भयो ।

उडिसाको पुरीमा रहेको जगन्नाथ मन्दिर भारतको चारधाममध्ये एक धाम हो। जहाँ कृष्ण, बलभद्र र सुभद्राको पूजा गरिन्छ । रथयात्रामा प्राचार्यका साथै श्रद्धालु भक्तले भजनकीर्तन गर्दै नगर परिक्रमा गरेका थिए ।
रथायात्राका लागि धरान र विराटनगर, इटहरीको एस्कोन, श्री राधा–कृष्ण भक्तिभावना अमृत सङ्घलगायत आध्यात्मिक संस्थाहरूको सहभागिता रहेको थियो ।

जगन्नाथ रथयात्रा महोत्सवको दर्शन गर्न हजारौँको संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । रथयात्रामा सहभागि हुँदा सय यज्ञ गरे समान फल मिल्ने र मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page