राजविराज । सप्तरीमा १५ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको कसुरमा एक युवकलाई ६ महिना कैद सजाय भएको छ ।
जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासले सुरुङ्गा नगरपालिका–३ दौलतपुर लक्ष्मीपुरका २५ वर्षीय जिवछ प्रकाश यादवलाई बालिकालाई बलात्कार प्रयास गरेको कसुरमा सोमबार ६ महिना कैद सजाय भएको हो ।
आरोपितले कैद सजायका साथै ५० हजार रूपियाँ जरिवाना तिर्नुपर्ने र ३५ हजार रूपियाँ क्षतिपूर्ति भर्नु पर्ने फैसला भएको इजलास अधिकृत हरिकुमार लिम्बुले बताउनु भयो ।
आरोपितले २०८० भदौ १४ गते राति १२ बजे बलात्कार प्रयास गरेको भन्दै पीडितका ३८ वर्षीय बुवाले इलाका प्रहरी कार्यालय कडरबोनामा कात्तिक ३ गते उजुरी दिनुभएको थियो ।
पीडितकी आमा राखी बाँध्न शम्भुनाथ ढिकहास्थित माइत गएकी र बुवा आनन्द पूजाको नाच हेर्न गाउँ निक्लेको बेला हजुरआमासँग रहेकी पीडितलाई आँगनबाट बहिनी भनी बोलाई राखी बाँध्न लगाउँदै पोकाबाट जिलेबी झिकी खुवाई अंगालो मार्न खोजेपछि प्रतिवाद गर्दा छुरा देखाई बलात्कार गर्न खोज्दा होहल्ला भएपछि हजुरआमा उठेर आउँदा आरोपित फरार भएको पीडितले बताउनु भयो ।
आरोपितले ०८० असोज १ गते तिज पर्वका दिन पुनः दुव्र्यवहार गरेपछि गाउँलेहरूले समात्न खोज्दा आरोपित भागेको पीडितले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल लहान, सिरहामा कात्तिक ३ गते भयो ।
इलाका प्रहरी कार्यालय कडरबोनाले कात्तिक ३ गते उजुरी दर्ता गर्यो । आरोपित कात्तिक ३ गते लक्ष्मीपुर टोलबाट पक्राउ परे । जिल्ला अदालतमा कात्तिक २२ गते अभियोग पत्र दायर भयो ।
न्यायाधीश नविनकुमार जोशीको इजलासबाट कात्तिक २३ गते आरोपित १ लाख रूपियाँ धरौटी राखि पुर्पक्षका लागि रिहा भएका थिए ।
Add Comment