समाचार

लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार पत्रकार डम्बर राईलाई प्रदान

कञ्चनरुप, २६ पुस । नेपाल पत्रकार महासंघ सप्तरीले हरेक वर्ष प्रदान गर्दै आएको ‘लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार डम्बर राईलाई प्रदान गरिएको छ । सप्तरी कार्यक्षेत्र बनाई पत्रकारिता गर्दै आएका प्रेस चौतारी नेपाल सप्तरीका जिल्ला अध्यक्ष राईलाई नगद ५ हजार ५ रुपैयाँ र प्रमाण पत्रसहित पुरस्कार प्रदान गरिएको हो ।
३० औं लोकेन्द्र स्मृति दिवसको अवसरमा बिहीवार कार्यक्रमका प्रमुख अतिथि आम सञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले राईलाई दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरे ।
सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ बस्तिपुर निवासी राई करिब एक दशकभन्दा अगाडिदेखि पत्रकारिता क्षेत्रमा आवद्ध छन् । नेपाल पत्रकार महासंघ सप्तरी शाखाका पूर्व स-सचिव समेत हुन् ।

सल्यान जिल्लाको कोटमौला घर भई सप्तरी कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका लोकेन्द्रबुढाथोकीको २०५० साल पुस २६ गते राति हत्या भएपछि २०५१ सालमा उनकै स्मृतिमा यो पुरस्कारको स्थापना गरिएको थियो । बुढाथोकी दृष्टि साप्ताहिकका सप्तरी प्रतिनिधि तथा स्थानीय सगरमाथा आवाज सप्ताहिकका सह–सम्पादक थिए ।
राजविराजस्थित समाज कल्याण केन्द्रमा बसेर एसएलसी सम्मको पढाइ पुरा गरेका बुढाथोकी महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा बिएल दोस्रो वर्षमा अध्ययनरत रहेकै अवस्थामा राजविराज ६ स्थित डेरामा हत्या भएको थियो ।
सोही समारोहमा वातावरणीय पत्रकारिता पुरस्कार अरुण कुमार यादवलाई प्रदान गरिएको छ । पत्रकार उमा सिंहको स्मृतिमा आजको वातावरण दैनिक पत्रिकाले स्थापना गरेको पुरस्कार राष्ट्रिय समाचार समितिका यादवलाई दिइएको हो । यादवलाई पुरस्कारस्वरुप प्रमाणपत्र र नगद प्रदान गरियो ।
उक्त पुरस्कार प्रत्येक वर्ष पुस २६ गते उमा सिंह स्मृति दिवसको अवसर पारेर वितरण गरिँदै आएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page