समाचार

डिल्लीबजारका नापी अधिकृत ९ लाख घुस रकमसहित पक्राउ

काठमाडौं, १ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नौ लाख रुपैयाँ घुससहित नापी कार्यालय डिल्लीबजारका नापी अधिकृतलाई पक्राउ गरेको छ।

जिल्ला काठमाडौं, नापी कार्यालय डिल्लीबजारअन्तर्गतको नं. ३ नापी टोली माछापोखरीका टोली प्रमुख नापी अधिकृत डिल्लीबहादुर वलीले छुट जग्गा दर्ता सिफारिससहितको मिसिलपत्र भूमि प्रशासन कार्यालय, मनमैजु काठमाडौंमा पठाउन अनावश्यक सास्ती, दुःख र हैरानी दिई घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियारले अनुसन्धान अघि बढाएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले वलीलाई नौ लाख रुपैयाँ घुस/रिसवतसहित पक्राउ गरेको हो। उनलाई २०८३ साल भदौ ३१ गते काठमाडौंको टोखा नगरपालिका–५, बसुन्धारास्थित एक रेस्टुरेन्टबाट रकमसहित नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।

पक्राउ परेका वलीविरुद्ध घुस/रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा अनुसन्धान भइरहेको छ। आयोगका अनुसार २०८३ असोज १ गते विशेष अदालतको आदेशबाट म्याद थप भई थप अनुसन्धान कार्य अगाडि बढाइएको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त जानकारी सार्वजनिक गरिएको हो।

You cannot copy content of this page