स्वास्थ्य

तिलगंगा आँखा केन्द्रमा रूपनगर क्याम्पसका विद्यार्थीहरूको निःशुल्क आँखा परीक्षण

कञ्चनरुप, २३ फागुन । सप्तरीको रूपनगरमा भर्खरै सञ्चालनमा आएको तिलगंगा कञ्चनरूप सर्जिकल आँखा केन्द्रले रूपनगर नन्दराज संग्रौला क्याम्पसका विद्यार्थीहरूको निःशुल्क आँखा जाँच गरेको छ ।
आँखा केन्द्रका इञ्चार्ज, दृष्टि विशेषज्ञ डा. असिम छुस्यावागले बुधबार २५ जना विद्यार्थीको आँखा परीक्षण गर्नु भयो । अत्याधुनिक उपकरणले सुसज्जित केन्द्रमा आँखा जाँच गराएका मध्ये अधिकांश विद्यार्थीको आँखा स्वस्थ्य रहेको जानकारी डा. असिमले दिनु भयो ।

क्याम्पस प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलको अगुवाइमा लाइन लागेर आँखा देखाउन गएका दुई दर्जन वढी विद्यार्थी मध्ये एक जनालाई चाहिँ थप जटिल परीक्षण गर्न तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँ जाने सुझाव डा. असिमले दिनु भयो ।
तिलगंगा आँखा प्रतिष्ठानको सहयोगमा कृति सामुदायिक स्वास्थ्य केन्द्र तथा कञ्चनरूप नगरपालिकासँगको सहकार्यमा स्थापित आँखा केन्द्रले केही दिन अघि मात्र सेवा शुरू गरेको हो ।

कृति सामुदायिक स्वास्थ्य केन्द्रका संस्थापक, वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्राध्यापक डा. रोहित पोखरेलको पहलमा यो स्वास्थ्य केन्द्रले रूपनगर क्याम्पसका विद्यार्थीहरूलाई स्वास्थ्य परामर्श सेवा निःशुल्क दिँदै आएको छ ।
स्वास्थ्य उपचारमा सामान्य सुविधा मात्र रहेको रूपनगर गाउँमा स्थापित आँखा केन्द्रले यो फागुन महिनभरी आँखा परीक्षण तथा सामान्य औषधि निस्शुल्क उपलब्ध गराउने जानकारी डा. असिमले दिनु भयो ।
तिलगंगा आँखा केन्द्रले सेवा दिन शुरू गरेको केही दिनमै अपेक्षा गरिएको भन्दा धेरै जना आँखा परीक्षण गराउन आएको जानकारी केन्द्रका आँखा स्वास्थ्य कार्यकर्ता अनिल साउदले दिनु भयो । साउदसँग रहेको तथ्याङ्क अनुसार फागुन २३ गते एकै दिनमा रूपनगर क्याम्पसका २५ जना विद्यार्थी र अन्य सहित ३३ जनाको आँखा जाँच गरियो ।

   

You cannot copy content of this page