सुनसरी, १० चैत । सुनसरीको धरान उपमहानगरपालिका १६ की २१ वर्षीया सुमना श्रेष्ठको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हत्यामा संलग्न धरान उपमहानगरपालिका १७ का १९ वर्षीय सविन भन्ने बाबुराम भुजेल रहेका छन् ।
गत चैत ७ गते धरानको विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कूल बिच रहेको खोल्सामा सुमनाको मृत अवस्थामा शव फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय धरान, नेपाल प्रदेश प्रहरी कार्यालय धरानबाट कुकुर सहितको प्रहरी टोली र विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट फोरेन्सि डाक्टर सहितको टोली घटनास्थलमा खटिगई घटना सम्बन्धमा प्रारम्भिक अनुन्धान थालेको थियो ।
अनुसन्धानको क्रममा उक्त शव धरान उपमहानगरपालिका १६ की २१ बर्षीया सुमनाको रहेको खुल्न आएको थियो । घटनाको प्रकृति हेर्दा मृतक श्रेष्ठको हत्या भएको देखिए पछि प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान थालेको थियो ।
प्रहरीले गहिरो अनुसन्धान पश्चात हत्यामा संलग्न सविन भन्ने बाबुराम भुजेललाई पक्राउ गरेको हो ।
मृतक श्रेष्ठ र भुजेल बीच करीब २ बर्ष देखि फेसबुक मार्फत प्रेम सम्बन्ध रहेको र बिस्तारै सम्बन्धमा खटपट हुँदै गए पछि चैत्र ६ गते भुजेल मृतक श्रेष्ठलाई भेट्न धरान आएको र भेटघाट गरी आफ्नै स्कुटरमा श्रेष्ठलाई राखी स्कुटर चलाउन सिकाउँदै जाने क्रममा उनीहरूको बिच फेसबुक प्रयोगको बिषयमा विवाद भएपछि भुजेलले श्रेष्ठको खुकुरीले घाटी रेटी हत्या पश्चात खोल्सामा फाली भागेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
भुजेललाई धनकुटा नगरपालिका ९ मुलघाटबाट लुकिछिपी बसेको अवस्थामा फेला पारी गत बिहीबार पक्राउ गरेको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान तथा कानुनी कारवाही भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
धरानकी सुमना श्रेष्ठको हत्यामा संलग्न सविन पक्राउ, उनीहरु करीब २ बर्ष प्रेम सम्बन्ध रहेको











