राजनीति समाचार

थोरै बोल्ने र बढी काम गर्ने पक्षमा आफू रहेको : मधेश प्रदेशका गृह मन्त्री लेखी

कञ्चनरुप, १२ चैत्र । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राज कुमार लेखीले थोरै बोल्ने र बढी काम गर्ने पक्षमा आफू रहेको बताउनु भएको छ ।
सोमबार नेकपा एमाले नगर समिती कञ्चनरुपद्वारा सप्तरीको कञ्चनपुरमा होली पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा सो कुरा बताउनु भएको हो ।
मन्त्री लेखीले होलीको शुभकामना दिँदै धार्मिक तथा साँस्कृतिक महत्त्व बोकेको साँस्कृतिक पर्वको रुपमा मनाउने होलीले राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो ।
गृह मन्त्री लेखीले प्रदेशमा भ्रष्टाचार अन्त्य गरि सुशासन कायम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
मन्त्री नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला आउनुभएको उहाँले आफुले पाएको जिम्मेवारीलाई इमानदारीपुर्वक वहन गर्दै प्रदेशमा भ्रष्टाचार अन्त्य गरि सुशासन कायम गर्न विज्ञहरुसंग राय लिएर योजनावद्ध रुपमा काम गर्ने बताउनुभयो।

“मैले तीनवटा विषयसंग सम्बन्धित मन्त्रालयको जिम्मेवारी पाएको छु, लेखीले भन्नुभयो, सञ्चार, कानुन तथा गृहसँग सम्बन्धित विज्ञहरुसंग छलफल गरि सरकार संचालनको आवश्यक नीति बनाएर अघि बढ्नेछु । त्यसका लागि छिटै विज्ञहरुसंग अन्तरक्रिया कार्यक्रमको तयारी भइरहेको छ ।”
सूचनाको हकको पहुँच सर्वसाधारण सम्म पुर्‍याउने, भ्रष्टाचार अन्त्य गरि सुशासन कायम गर्न आवश्यक नीति बनाउने र गृह प्रशासनलाई प्रभावकारी बनाउन र सिमा क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रण तथा प्रदेश बासीलाई सुरक्षाको प्रत्याभूति कसरी मिलाउने विषयमा विज्ञहरुले दिएको सुझाव तथा सल्लाह बमोजिम योजना बनाउने मन्त्री लेखीले बताउनु भयो ।
आफूले पाएको जिम्मेवारीलाई इमानदारी पूर्वक बहन गर्ने उल्लेख गर्दै उहाँले आफ्नो कारण मतदाता तथा पार्टीको शिर निहुरिन नदिने उद्घोष समेत गर्नुभयो । मन्त्री लेखीले सरकारमा हुँदैमा पार्टीलाई असहयोग गर्ने कुरै हुँदैन भन्दै सरकार र पार्टीको कामलाई संगसंगै अगाडि बढाउने उल्लेख गर्नुभयो ।
नगर समिति अध्यक्ष बच्चुलाल चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश सदस्य उत्तम गौतम, आश्रा चौधरी, निजामती कर्मचारी संगठनकी केन्द्रिय उपाध्यक्ष भवानी दाहल, प्रेस चौतारी नेपाल सप्तरीका अध्यक्ष डम्बर राईसहित विभिन्न संचार माध्यम आवद्ध पत्रकारहरु, एमाले जिल्ला तथा स्थानीय नेताकार्यकर्ताहरुको उपस्थित रहेको थियो ।
कार्यक्रममा नवनियुक्त मन्त्री लेखीलाई खदा, माला र टीका लगाएर भव्य स्वागत समेत गरिएको थियो । कार्यक्रमको संचालन नगर समिति सचिव केवल खत्रीले गर्नुभएको थियो ।

   

You cannot copy content of this page