मधेस प्रदेश समाचार

बारामा स्रोत नखुलेको १३ लाखबढी नगदसहित दुई जना पक्राउ

बारा । हुण्डी कारोबारमा संलग्न भएको आरोपमा बारा प्रहरीले दुई जनालाई १३ लाखबढी अवैध रकम सहित नियन्त्रणमा लिई सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका १ बनकटवाका ३४ वर्षीय हरिकिशोर पटेल र बाराको महागढीमाई नगरपालिका-१ का ४२ वर्षीय रमेश कुशवाहा रहेका छन् ।
उनीहरुको साथबाट स्रोत नखुलेको रु. १३ लाख ५० हजार रुपैयाँ बरामद गरिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले बाराको विश्रामपुर गाउँपालिका–४ मुसहर्वास्थित सडकबाट भारतबाट नेपाल प्रवेश गर्दै गरेका प्रदेश २–०३–०१६प२३३७ नम्बरको मोटरसाइकलमा सवार पटेललाई रोकेर चेकजाँच गरेको थियो ।
पटेलको बयानका आधारमा आरके मनी चेन्जर बरियारपुरका सञ्चालक रमेश कुसवाहा पक्राउ परेका हुन् । बरामद भएको पैसा कुसवाहाको रहेको बताइएको छ ।
रकमसहित पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको न्यौपानेले जानकारी दिए।

   

You cannot copy content of this page