समाचार

किसान र सामुदायिक वन उपभोक्ताले चाहे जस्तो ऐन कानुन निर्माण गर्नेछु : मन्त्री लेखी

कञ्चनरुप, २५ चैत्र । सप्तरीको सप्तकोसीमा प्रदेश स्तरीय सामुदायिक वन तथा कृषि सरोकारवालाहरु बिच सवालगत बहस कार्यक्रम सम्पन्न भएको छ ।
सामुदायिक वन महासंघ सप्तरी जिल्लाको आयोजनामा सप्तकोसी नगरपालिका फत्तेपुरमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल मधेस प्रदेशले प्रदेश स्तरीय सामुदायिक वन तथा कृषि सरोकारवालाहरु बिच सवालगत बहस कार्यक्रम शनिबार सप्पन्न गरेको हो।

कार्यक्रम सामुदायिक वन महासंघ सप्तरीका अध्यक्ष अशोककुमार चौधरीको अध्यक्षता तथा मधेस प्रदेशका गृह ,सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीको प्रमुख आतिथ्यता तथा सामुदायिक वन महासंघका केन्द्रिय अध्यक्ष ठाकुर भण्डारी ,सप्तकोसी नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद ढकालको विशिष्ट अतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा वोल्दै प्रमुख अतिथी गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले प्रदेशमा किसान र सामुदायिक वन उपभोक्ताले चाए जस्तो ऐन कानुन निर्माण गर्ने बताए। ऐन कानुन, नियमावली तथा निर्देशिका वनाउँदा पनि महासंघका पदाधिकारीहरु संग आवश्यक सुझाव लिने कार्य थालिसकेको र आम उपभोक्ताको हितलाई ध्यानमा राखेर बनाउने बताए ।

महासंघका मधेस प्रदेश अध्यक्ष सोमप्रसाद शर्माले वन वातावरण र जैविक विविधता संरक्षणका लागि सामुदायिक वन नै सर्वोत्तम रुपमा सफल भएको बताए । उनले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार र राजनीतिक दलहरु समेतले निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र, वातावरण संरक्षण क्षेत्र, मध्यवर्ति क्षेत्र लगायतका थप केन्द्रिकृत संरक्षित क्षेत्रहरु घोषणा गर्न तल्लिन रहेको देखिएकोले उक्त कार्य तत्काल रोकी सामुदायिक वनका माध्यमबाट वन, वातावरण र जैविक विविधता संरक्षण गर्ने अभियानलाई निरन्तरता दिनुपर्ने बताए ।
महासंघका केन्द्रिय अध्यक्ष ठाकुर भण्डारीले संघ र प्रदेशमा देखिएको अन्यौलताले सामुदायिक वनलाई गंभिर असर पारिरहेको र सामुदायिक वन उपभोक्ता समूहको अधिकार, वन क्षेत्रमा मानव अधिकारको सुनिश्चितता, महिला अधिकार, आदिवासी जनजाति, स्थानीय समुदाय, मधेशी, दलित, अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्नुका लागि आफु अहोरात्र खट्ने समेत बताए।
कार्यक्रममा रक्तमाला नमुना सामुदायिक वनका उपभोक्ता शम्भु बहादुर खडका ,सप्तकोसी नगरपालिका वडा न १ का वडा अध्यक्ष रोहिणि प्रसाद पोखरेल, सप्तरी जिल्ला सामुदायिक वन महासंघका संस्थापक अध्यक्ष नारायणप्रसाद आचार्य, सप्तकोसी नगरपालिका नि बर्तमान नगरप्रमुख उत्तमकुमार शर्मा, सप्तकोसी नगरप्रमुख कृष्णप्रसाद ढकाल लगायले शुभकामना मन्तव्य राखेका थिए।

यसैगरि सरोकारवालाहरु संगको सवालगत बहस कार्यक्रम समाप्ति संगै सामुदायिक बन उपभोक्ता महासंघ नेपालको मधेस प्रदेशको प्रदेश स्तरीय बैठक बसि मधेस प्रदेशमा रहेका सामुदायिक बन अभियानलाइ पक्ष पोषण र सहजीकरण गर्नको लागि प्रदेश स्तरको सामुदायिक बन उपभोक्ता महासंघ नेपाल क्रियाशिल रहेको ठहर गर्दै मधेस प्रदेशमा रहेका वन क्षेत्रको दिगो ब्याबस्थापन गरि समृद्ध मधेस प्रदेश निर्माणका लागि यो महासंघ प्रदेश सरकार तथा सम्बद्ध सरोकारवालाहरु संग सदैव सहकार्य गर्न तयार रहेको छ । सामुदायिक वन र यससंग जोडिएका केहि पक्षहरु समाबेश गर्दै ध्यानाकर्षणका निमित्त ३० बुदे सप्तकोसी घोषणापत्र जारि गर्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपाल मधेस प्रदेशको प्रदेश स्तरीय बैठक सम्पन्न भएको महासंघका मधेस प्रदेश अध्यक्ष सोम प्रसाद शर्माले जानकारी दिए ।
कार्यक्रममा महासंघका केन्द्रिय पदाधिकारी, प्रदेश पदाधिकारी, सामुदायिक वन उपभोक्ता महासंघ मधेस प्रदेशका ८ वटै जिल्लाका अध्यक्ष, पदाधिकारी लगायत विभिन्न सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम सप्तकोसी नगरपालिकामा रहेका रक्तमाला, पर्सा, गंगाजलि, बलार्दह, बेल्हादेवी र कञ्चनरुप नगरपालिकाको निकुरि हातिलेट सामुदायिक वनको सहकार्य रहेको थियो ।

   

You cannot copy content of this page