समाचार समाज

इटी बिटी मन्टेश्वरी स्कुल राजविराजको वार्षिक उत्सव तथा दिक्षान्त समारोह सम्पन्न

राजविराज, २७ चैत्र । इटी बिटी मन्टेश्वरी स्कुल राजविराजको वार्षिक उत्सव तथा दिक्षान्त समारोह कार्यक्रम मंगलबार विविध कार्यक्रहरुको आयोजना गरी सम्पन्न भएको छ ।
मन्टेश्वरी स्कुलका संस्थापक प्रिन्सिपल पुनम चौरसियाको अध्यक्षता तथा राजविराज नगरपालिका शिक्षा शाखा प्रमुख भोगेन्द्रप्रसाद यादवको प्रमुख आतिथ्यमा एक समारोहका विच कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि यादवले भविष्यको मूल आधार बालबालिकाहरुका पक्षमा सकारात्मक, सिर्जनात्मक र व्यवहारिक दिशानिर्देशका साथ सहज वातावरणमा शिक्षासँगै संस्कारको पाठ सिकाउन आवश्यक रहेको बताए । उचित संस्कार, रहनसहन, बोली व्यवहारका साथै शिक्षामा नविनताको खोजी गरेर २१ औं शताब्दीका लागि विद्यार्थीहरु तयार गर्नुपर्नेमा यादवले जोड दिए ।

विशिष्ठ अतिथि पत्रकार तथा अधिकारकर्मी मनोहर पोखरेलले बालबालिका सबल र सक्षम भए देशको जग बलियो हुने बताए । बलियो जगको आडमा मात्र असल र राम्रा काम गर्न सकिने भएकोले बालबालिकालाई सक्षम र धारिलो बनाउन शिक्षासँगै संस्कार र संस्कृतिको पाठ पढाउन जरुरी रहेको पोखरेलले बताए ।
विशिष्ठ अतिथि शिक्षक मञ्जु श्रेष्ठले बालपुस्ताप्रति विभेदरहित ढंगले बेलैमा सचेत र सजग हुन सकेमा मात्र अपेक्षित प्रगति सम्भव रहेको बताइने । समय परिवर्तन भएसँगै समानतापूर्वक छोरा र छोरीलाई सिकाउन, बुझाउन वा बाटो देखाउनतिर अभिभावक अग्रसर बनेकोमा खुशी व्यक्त गरिन् ।
सबै आशा विद्यालयबाट गर्न नहुने भन्दै प्याब्सन सप्तरीका अध्यक्ष अरुणकुमार देवले पाठ सिक्नु र आवश्यक कुरा सिक्नुमा ठूलो अन्तर रहेकोले यो अन्तर बुझेर जीवनउपयोगी सिकाईमा परिवारको महत्वपूर्ण योगदान हुने बताए । त्रिभुवन विश्वविद्यालयका रिडर गोबद्र्धन साहले हरेक बालबालिकामा कुनै न कुनै क्षमता र प्रतिभा हुने भएकाले प्रतिभाको प्रष्फुटनमा सघाउन र त्यसमा सार्थकता प्रदान गर्ने काममा शिक्षाको भूमिका महत्वपूर्ण हुने बताए ।

प्राध्यापक हरिश्चन्द्र प्रसादले देश, समाज र परिवारको मुख्य आधार बालबालिकाको चौतर्फी हित र विकासका लागि दूरदर्शी चिन्तन र सोंचका साथ व्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताए ।
सम्पन्न कार्यक्रमको सञ्चालन खुश्बु पुजा र स्वागत निश्मा हंगामा राईले गरेका थिए भने पारसमणीले धन्यवाद ज्ञापन गरेका थिए ।
एक जना विद्यार्थी शुभम्लाई ट्युशन पढाएपछि मन्टेश्वरी स्कूलको सपना देख्नुभएकी राजविराज नगरपालिका–७ की पुनम चौरसियाले २०७६ मंसिर १ गते ५ जना बालबालिकाबाट मन्टेश्वरी स्कुल सञ्चालनमा ल्याउनुभयो । चार वर्षको अवधिमा एक सय ५० जना विद्यार्थी भर्ना हुनुमा विद्यालयको गुणस्तरमा अभिभावकहरुले राम्रो मूल्यांकन र विश्वास गरेको चौरसियाले बताइन् । कक्षा २ सम्म अध्ययन हुने गरेको स्कूलमा यो वर्षदेखि कक्षा ३ सञ्चालन गरिने चौरसियाले जानकारी दिइन् ।

स्कुलले मन्टेश्वरी तालिम प्राप्त शिक्षिकाहरुद्वारा मन्टेश्वरी बिधिबाट विद्यार्थीहरुलाई पढाईरहेको शिक्षिकाहरुले जानकारी दिएका छन् । खेलको बिधीबाट शिक्षण सिकाई र सीप विकासमा ध्यान दिने गरिएको मन्टेश्वरी विद्यालयमा बालबालिकाको आहार, अनुशासन, शिक्षा, संस्कार, चाडपर्व, जन्मदिनलाई समेत मध्यनजर गर्दै विभिन्न समारोहको आयोजना हुने गरेको विद्यालयले जनाएको छ । विद्यार्थीहको चौतर्फी विकासका लागि पढाइसँगै मौलिक चाडपर्व, रीतिरिवाज तथा संस्कारका कार्यक्रमहरु विद्यालयले गर्दै आएको पारसमणीले जानकारी दिए ।
न्यूनतम शुल्कमा मन्टेश्वरीमा प्ले ग्रुप देखि कक्षा २ सम्मको बालबालिकालाई घरायसी वातावरण अनुसार दक्ष शिक्षिकाबाट पढाई र खाना नास्ताको राम्रो व्यवस्था रहेको विद्यालयले जानकारी दिएको छ । विद्यालयका अनुसार हरेक बालबालिकामा पढाइसँगै संस्कारका कुराहरु सानैदेखि विकास गर्दै जानुपर्ने भएकोले विद्यालयले पढाइ, संस्कार र रीतिरिवाजलाई प्राथमिकतामा राख्दै आएको छ । सहभागी अभिभावकहरुले आफ्ना बालवालिकाको सिकाई प्रति सन्तुष्ट रहेको बताए ।

कार्यक्रममा बिधार्थीहरुका फरक फरक समुहले नृत्य, गायन, रोल प्ले लगायत बिभिन्न सिर्जनात्मक प्रस्तुती राखेका थिए । सो अबसरमा बिभिन्न बिधामा उत्कृष्ट बनेका बिद्यार्थीलाई प्रमुख अतिथि यादव र विशिष्ठ अतिथिहरु श्रेष्ठ, पोखरेल, देव, हरिश्चन्द्र प्रसादले पुरस्कारस्वरुप मेडल प्रदान गरेका थिए ।
यसैगरी ८ जना बिद्यार्थी माथिल्लो कक्षाका लागि दिक्षित भएका छन् । मानवको सात, आठ वर्षसम्मको समय बालविकास उमेर हो । यो अवस्था मानव विकासको जग निर्माण हुने संवेदनशील र महत्वपूर्ण अवस्था हो । मानव जीवनका यी सुरुवाती वर्षमा बालबालिकाको मस्तिष्क निर्माण र बौद्धिक विकास तीव्र हुन्छ भन्ने तथ्य विभिन्न अध्ययन तथा अनुसन्धानले देखाएको छ ।

   

You cannot copy content of this page