कोशी प्रदेश समाचार

भोजपुरबाट पेस्तोल सहित लुटपाटमा संलग्न १ जना पक्राउ

भोजपुर, ३ बैशाख । भोजपुरको षडानन्द नगरपालिका ९ स्थितबाट पेस्तोल सहित लुटपाटमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा टेम्के मैयुङ गाउँपालिका १ का ३७ वर्षीय सुमित भन्ने सुमन परियार रहेका छन ।
गत आईतबार षडानन्द ९ स्थितमा रहेको जंगलमा षडानन्द नगरपालिका २ की ८५ वर्षीया पासाङ ल्हामु शेर्पालाई पेस्तोल देखाई सुनको गरगहना तथा नगद लुटपाट गरी १ जना मानिस फरार भएको भन्ने खबर प्राप्त भएसगै इलाका प्रहरी कार्यालय दिङला र इलाका प्रहरी कार्यालय सापाङबाट खटिएको प्रहरी टोलीले आईतवार बेलुका ८ बजे सोही जंगलमा परियारलाई शंकास्पद अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका परियारको साथबाट प्रहरीले लुटपाटमा प्रयोग भएका पेस्तोल १ थान, म्याग्जिन १ थान, ११ राउण्ड गोली, नगद ९ हजार ५० रुपैया तथा सुनका गरगहना समेत बरामद गरेको छ ।
परियार २०७६ फाल्गुन २१ गते संगठित अपराध, अपराधिक उपद्रव, एनसेल टावर आगजनी, जेसिवी आगजनी, राज्यबिरुद्धको कसुर लगायत ५ वटा मुद्धामा कैद सजाय भुक्तान गरि २०८० भदौमा कारगारबाट छुटेको खुल्न आएको छ।
घटना सम्बन्धमा थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

   

You cannot copy content of this page