समाचार

सप्तरीमा चट्याङ लागेर ७ वर्षीया बालिकाको मृत्यु 

कञ्चनरूप, ३ जेठ । सप्तरीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । शनिबार बिहान जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१४ स्थित कोशी नदीको बगरमा चट्याङले लाग्दा ७ वर्षीया बालिकाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा भारतको उत्तर प्रदेश सामली जिल्ला केरना पञ्चायत बस्ने जाहिद खानकी ७ वर्षीया छोरी जैनव खातुन रहेको सप्तरी प्रहरीले जनाएको छ ।

चट्याङबाट घाइते भएकी बालिकाको राजविराज  स्थित छिन्नमस्ता अस्पतालमा उपचारक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

त्यस्तै सोही ठाउँमा बस्दै आएका केरना पञ्चायतकै गुलु खानका ७ वर्षीय छोरा जुविर पनि चट्याङको कारणले घाइते भएका छन् । उनको छिन्नमस्ता अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । 

उनीहरू हनुमाननगर कंकालिनी नगरपालिका १४ स्थित कोशी बगरमा अस्थायी टहरा बनाई खरभुजा खेती गर्दै आएका छन् ।

   

You cannot copy content of this page