समाचार

गंगाजलीमा योद्धा सम्मानदेखि विद्यार्थी सहयोगसम्म,एकै कार्यक्रममा दुई सन्देश

कञ्चनरुप । महगु लेखी वृद्धाश्रम गंगाजलीको आयोजनामा प्रजातान्त्रिक योद्धा, सञ्चारकर्मी तथा ज्येष्ठ नागरिकलाई सम्मान गर्ने तथा दलित विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने विशेष कार्यक्रम आयोजना गरिने भएको छ।
उक्त कार्यक्रम आगामी २०८३ साल बैशाख ४ गते शुक्रबार आयोजना हुने आयोजकले जनाएको छ। कार्यक्रममा मधेश प्रदेश सभा सदस्य तथा निवर्तमान गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीको अध्यक्षता रहनेछ भने मधेश प्रदेश सभाका सभामुख राम आशिष यादव प्रमुख अतिथिको रूपमा सहभागी हुनेछन्।
“दलित विद्यार्थीलाई शैक्षिक सामग्री वितरणसहित प्रजातान्त्रिक योद्धा तथा सञ्चारकर्मी सम्मान कार्यक्रम” शीर्षकमा सञ्चालन हुने उक्त कार्यक्रममा पञ्चायती व्यवस्थाविरुद्ध प्रजातन्त्र स्थापनाका लागि संघर्ष गरेका तथा जेल–हिरासतमा यातना भोगेका प्रजातान्त्रिक योद्धाहरूलाई विशेष सम्मान गरिनेछ।
सम्मानित हुने व्यक्तित्वहरूमा सत्यनारायण मण्डल, जयप्रकाश गुप्ता, हेमराज तातेड, विनोद दत्त, दिवाकर देवकोटा, उपेन्द्र झा, मुरारी कार्की, रवीन्द्र चौधरी, रमेश कार्की, उपेन्द्रनारायण चौधरी, देवनारायण श्रेष्ठ, सुरेश पोखरेल, जयसुन्दर महत्माण, दिपनारायण लेखी, दिनेश्वर चौधरी, शिवनन्दन शाह, सन्तान कार्की तथा कुमार पौडेल लगायत रहेका छन्।
यसका साथै बहुदलीय व्यवस्था र प्रजातन्त्र स्थापनाका लागि निरंकुश पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका सप्तरी निर्वाचन क्षेत्र नं. १ का प्रजातान्त्रिक योद्धाहरूलाई पनि विशेष सम्मान गरिने जनाइएको छ।
कार्यक्रममा समाजमा उल्लेखनीय योगदान पु¥याउँदै आएका सञ्चारकर्मी (सम्पादकहरू) तथा ज्येष्ठ नागरिकहरूलाई समेत सम्मान गरिनेछ। त्यस्तै दलित समुदायका विद्यार्थीहरूको शैक्षिक उन्नयनमा टेवा पु¥याउने उद्देश्यले आवश्यक शैक्षिक सामग्री वितरण गरिने आयोजकले जनाएको छ।
उक्त कार्यक्रमले समाजका योगदानशील व्यक्तित्वहरूको कदर गर्दै नयाँ पुस्तामा सकारात्मक प्रेरणा प्रदान गर्ने विश्वास लिइएको छ। कार्यक्रममा सम्पूर्ण सरोकारवाला निकाय, स्थानीयवासी तथा आम नागरिकलाई उपस्थितिका लागि आयोजकले आग्रह गरेको छ।

   

You cannot copy content of this page