कञ्चनरुप । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहस्थित कंकालिनी मन्दिर प्राङ्गणमा तरबार प्रयोग गरी जन्मदिन मनाएको आरोपमा चार जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार तिरहुत गाउँपालिका–५ बुधेवा निवासी २३ वर्षीय मो। इमरानले जन्मदिन मनाउने क्रममा तरबारले केक काटेका थिए। उक्त घटनामा संलग्न उनीसहित अन्य तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा हनुमाननगर कंकालिनी नगरपालिका–१ का २० वर्षीय धर्मबीर मालाकार, १८ वर्षीय करण कुमार दास र १९ वर्षीय गोबिन्द खड्का रहेका छन्।
उनीहरूले वैशाख २ गते साँझ मन्दिर प्राङ्गणमा भेला भई तरबार प्रयोग गरेर जन्मदिन मनाएको प्रहरीले जनाएको छ। धार्मिक स्थलमा यस्तो गतिविधि गरेको पाइएपछि वैशाख ३ गते साँझ उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय कञ्चनपुरमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।











