कञ्चनरुप, ४ वैशाख । यस कञ्चनरुप न्यूज डट कमका सम्पादक उत्सव आचार्यसहित दर्जनौं विशिष्ट व्यक्तित्वलाई शुक्रबार एक विशेष समारोहबीच सम्मान गरिएको छ। सप्तरीको सप्तकोशी नगरपालिका–५ गंगाजलीमा महँगु लेखी वृद्धाश्रमद्वारा आयोजित कार्यक्रममा प्रजातान्त्रिक आन्दोलनका योद्धा, सञ्चारकर्मी तथा ज्येष्ठ नागरिक गरी तीन दर्जनभन्दा बढी व्यक्तित्वलाई सम्मान गरिएको हो।
वृद्धाश्रमका संरक्षक एवं मधेश प्रदेश सभा सदस्य तथा पूर्व गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेशसभाका सभामुख रामअशिष यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्याएका पूर्वमन्त्री सत्यनारायण मण्डल, हेमराज ताडेड, दिवाकर देवकोटा, मुरारी कार्की, रविन्द्र चौधरी, रमेश कार्की, दिनेश्वर प्रसाद चौधरी, प्रदीप गुप्ता, उपेन्द्र चौधरी, देव नारायण श्रेष्ठ, रामदेव चौधरी तथा उपेन्द्र कुमार झालाई सम्मान गरिएको थियो।

त्यसैगरी सञ्चार क्षेत्रबाट आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्गा, प्रेस स्वतन्त्रता सेनानी प्रकाश खतिवडा, ‘न्युज टुडे’का कार्यकारी सम्पादक बृजमान तामाङ तथा सम्पादकहरू श्रवण देव, भोला पासवान, राजकुमार पासवान, खगेन्द्र कार्की, उत्सव आचार्य, अनिल पोखरेल, विपी कोइराला र मनु पासवानलाई समेत सम्मान गरिएको छ।
कार्यक्रममा ८० वर्ष नाघेका एक दर्जनभन्दा बढी ज्येष्ठ नागरिकलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो। प्रमुख अतिथि सभामुख यादवले सम्मानित व्यक्तित्वहरूलाई दोसल्ला तथा कदरपत्र प्रदान गर्दै उनीहरूको योगदानको उच्च मूल्याङ्कन गर्नुभयो।

सो अवसरमा बोल्दै सभामुख यादवले लोकतन्त्र स्थापनाका लागि संघर्ष गर्ने व्यक्तित्वहरूको सम्मानले नयाँ पुस्तामा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो। अध्यक्ष राजकुमार लेखीले प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भई जेलनेल तथा यातना भोगेका योद्धा, सञ्चारकर्मी र ज्येष्ठ नागरिकहरूको योगदानको कदरस्वरूप सम्मान गरिएको बताउनुभयो।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, संघ–संस्थाका पदाधिकारी तथा समाजका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।














