समाचार

हवाहुरीले टेम्पुमाथि रुख ढल्दा २ जनाको मृत्यु, ४ गम्भीर घाइते

महोत्तरी । जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको ज १ घ ४८५० नम्बरको टेम्पुमाथि रुख ढल्दा दुई जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्।
शनिबार साँझ आएको तीव्र हावाहुरीका क्रममा जलेश्वरस्थित नेपाली सेनाको ब्यारेक नजिकै सडक छेउको रुख अचानक ढलेर गुडिरहेको टेम्पुमाथि खसेपछि दुर्घटना भएको हो।
दुर्घटनामा धनुषाको जनकपुर उपमहानगरपालिका–२० बस्ने अन्दाजी ४१ वर्षीया सकुन्तला देवी र महोत्तरीको एकडारा गाउँपालिका–३ बस्ने तपेश्वर मलिकका ३३ वर्षीय छोरा राहुल मलिकको मृत्यु भएको प्रहरीले जनाएको छ। दुवै जनाको शव प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ।
घाइतेमध्ये टेम्पु चालक जलेश्वर नगरपालिका–११ बस्ने अन्दाजी ५२ वर्षीय हरेन्द्र ठाकुरको अवस्था गम्भीर रहेको छ र उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।
त्यस्तै, एकडारा गाउँपालिका–३ बस्ने ४३ वर्षीया फेकनी देवी मलिक (तपेश्वर मलिककी श्रीमती) लाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि जनकपुर रिफर गरिएको छ, उनको अवस्था पनि गम्भीर रहेको छ।
यसैगरी, जनकपुर उपमहानगरपालिका–१२ बस्ने रामबाबु मलिकका १७ वर्षीय छोरा धिरज मलिकको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ, उनको अवस्था मध्यम रहेको छ।
अर्की घाइते जनकपुर उपमहानगरपालिका–२० बस्ने १४ वर्षीया रिया पण्डित (सकुन्तला देवीकी छोरी) को पनि प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ र उनको अवस्था गम्भीर रहेको जनाइएको छ।
दुर्घटनापछि केही समय सडक अवरुद्ध भए पनि सुरक्षाकर्मीले रुख हटाएपछि यातायात सञ्चालन पुनः सुचारु गरिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

   

You cannot copy content of this page