समाचार

सामाजिक सञ्जालमा अश्लील शब्द प्रयोग गरी गालीगलौज गर्ने जयसवाल पक्राउ

कञ्चनरुप, ९ वैशाख । सप्तरीको रुपनी गाउँपालिकाका अध्यक्षको तस्बिर प्रयोग गरी सामाजिक सञ्जालमा गालीगलौज र चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको रुपनी गाउँपालिका वडा नं. १ बस्ने ४१ वर्षीय राजु जयसवाल (किरण कुमार जयसवाल) रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सप्तरीको टोलीले राजविराज नगरपालिका वडा नं. ७ बाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार जयसवालले सामाजिक सञ्जाल फेसबुकमा “Raju Jayasawal” नामको आईडी बनाएका थिए । सोही आईडीमार्फत उनले रुपनी गाउँपालिकाका अध्यक्षको तस्बिर राखी अश्लील र अपमानजनक शब्दहरू प्रयोग गरी पोष्ट गर्ने, अन्य व्यक्तिहरूलाई ट्याग गर्ने र घृणा फैलाउने कार्य गरेको पाइएको छ ।
दिनेश कुमार यादवको जाहेरी दरखास्तका आधारमा प्रहरीले उनलाई विद्युतीय अपराध (साइबर क्राइम) मुद्दामा पक्राउ गरेको हो ।
जिल्ला अदालत राजविराजबाट ५ दिनको म्याद थप गरी उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभएको छ ।

   

You cannot copy content of this page