कञ्चनरुप । जिल्ला प्रहरी कार्यालय सप्तरीले विभिन्न मुद्दामा अदालतबाट सजाय भई फरार रहेका तीन जना प्रतिवादीहरूलाई पक्राउ गरेको छ । फैसला कार्यान्वयनको सिलसिलामा खटिएको प्रहरी टोलीले उनीहरूलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीका अनुसार पक्राउ पर्नेहरूमा लेनदेन विगो मुद्दाका एक जना र कुटपिट अङ्गभङ्ग मुद्दाका दुई जना रहेका छन्।
खडक नगरपालिका वडा नं १ का चन्द्रेश्वर मण्डल लेनदेन विगो मुद्दामा ६ महिना कैद सजाय सुनाइएका फरार प्रतिवादी हुन्। उनलाई इलाका प्रहरी कार्यालय कडरवोनाले पक्राउ गरेको हो।
तिरहुत गाउँपालिका वडा नं. १ का रोशन कुमार मगरदैता यादव र घनश्याम मगरदैता दुबैलाई कुटपिट अङ्गभङ्ग मुद्दामा १,१ महिना कैद र २०,२० हजार रुपैयाँ जरिवानाको फैसला भएको थियो।
यादव र मगरदैता दुवैलाई इलाका प्रहरी कार्यालय कञ्चनपुरको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि सप्तरी जिल्ला अदालत राजविराजमा बुझाइएको छ। प्रहरीले फरार रहेका अपराधीहरूलाई पक्राउ गर्ने अभियानलाई तीव्रता दिँदै आएको जानकारी दिएको छ।











