कञ्चनरुप, १४ वैशाख । जिल्ला प्रहरी कार्यालय सप्तरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ७ जना प्रतिवादीहरूलाई पक्राउ गरेको छ।
फैसला कार्यान्वयनको सिलसिलामा खटिएको प्रहरी टोलीले उनीहरूलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरी सोमबार अदालतमा उपस्थित गराएको हो।
पक्राउ पर्नेहरूमा कर्तव्य ज्यान, सवारी ज्यान, चोरी र डाँका मुद्दाका अभियुक्तहरू रहेका छन्। प्रहरीका अनुसार कर्तव्य ज्यान मुद्दामा १ वर्ष कैद सजाय तोकिएका खडक नगरपालिका–९ का मो. इजराईल, रफु मियाँ, मो. अख्तर र मो. जाकिर पक्राउ परेका छन्।
त्यसैगरी, सवारी ज्यान मुद्दामा २ महिना कैद सजाय भएका खडक नगरपालिका–११ का नबिन कुमार चौधरीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। अन्य पक्राउ पर्नेहरूमा चोरी मुद्दाका राम यादव (१ महिना कैद र २ हजार जरिवाना) र डाँका मुद्दाका रामवास यादव (३ वर्ष कैद र ३० हजार जरिवाना) रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीका अनुसार पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि सप्तरी जिल्ला अदालत राजविराजमा बुझाइएको छ।
अदालतको फैसलापछि फरार रहेका अपराधीहरूलाई समात्न प्रहरीले पछिल्लो समय सक्रियता बढाएको छ।













