कञ्चनरूप, १४ वैशाख । सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिका–६ मोहनपुरमा आइतबार राति जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ।
आफ्नै बारीमा मकै रुङ्दै गरेका ६६ वर्षीय यज्ञश्वर निरौलालाई राति करिब ११:४५ बजे हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
प्रहरीका अनुसार मृतकको शव आवश्यक प्रक्रिया पूरा गरी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पोष्टमार्टमका लागि पठाइएको छ। जिल्लामा मानवीय क्षति समेत बढ्दै गएको छ।
निरौलाको शव परिक्षणपछि परिवारलाई बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी डम्बरबहादुर पुरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
यस घटनाले स्थानीयवासीमा त्रास फैलिएको छ। पछिल्लो समय सप्तरीका विभिन्न गाउँमा जङ्गली हात्तीको गतिविधि बढ्दै गएको र यसले किसानलाई खेतीपातीमा ठूलो क्षति पुर्याइरहेको स्थानीयले बताएका छन्।
हात्तीको आक्रमणका कारण विगत केही वर्षयता यसबीच स्थानीयवासीले वन्यजन्तु नियन्त्रण तथा सुरक्षाका लागि प्रभावकारी कदम चाल्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।












