समाचार समाज

कञ्चनरुप-१२ रुपनगरमा लोपोन्मुख पञ्चेबाजा संरक्षणका लागि विशेष तालिम सुरु

कञ्चनरुप, १५ वैशाख । सप्तरीको कञ्चनरुप १२ रुपनगरमा मौलिक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ १५ दिने नौमती पञ्चेबाजा तालिमको औपचारिक सुरुवात गरिएको छ। नेवाः देय दवु कञ्चनरुप नगर कार्यसमिति (कञ्चनरुप १२, रुपनगर, बस्तिपुर) को आयोजनामा यो कार्यक्रम सुरु भएको हो।
नेवा समाज गूठी भवनमा आयोजित एक विशेष समारोहका बीच कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताले सनाई र उपप्रमुख मुना कुमारी पोखरेलले झ्याम्टा बजाएर तालिमको संयुक्त रुपमा उद्घाटन गर्नुभयो। उद्घाटनका क्रममा पञ्चकन्यालाई साक्षी राखेर परम्परागत रुपमा पूजापाठ समेत गरिएको थियो।
नगर प्रमुख ललन प्रसाद गुप्ताले लोप हुँदै गएको भाषा र संस्कृतिको संरक्षण गर्नु सबैको साझा दायित्व रहेको बताउनुभयो ।
उपप्रमुख मुना कुमारी पोखरेलले आफ्नै विशेष पहलमा नगरपालिकाको तर्फबाट रु. ५ लाख आर्थिक सहयोग उपलब्ध गराई यो तालिम सञ्चालनमा ल्याइएको बताउनुभयो ।

नेवाः देय दवुका पूर्व अध्यक्ष जित बहादुर श्रेष्ठले भन्नुभयो मौलिक धरोहरका रुपमा रहेको पञ्चेबाजालाई जीवन्त राख्न यो तालिम कोसेढुङ्गा सावित हुनेछ ।
कार्यक्रमलाई सम्बोधन गर्दै जनप्रतिनिधि र स्थानीय अगुवाहरूले मौलिक कला संस्कृतिको संरक्षणमा जोड दिएका छन् ।
यस तालिमको मुख्य विशेषता महिलाहरूको वृहत सहभागिता रहनु हो। परम्परागत रुपमा पुरुषहरूले मात्र बजाउने भनिएको पञ्चेबाजा हिजोआज महिलाहरूले सिक्न थाल्नुलाई सकारात्मक रुपमा हेरिएको छ।
सिन्धुलीबाट आउनुभएका दक्ष प्रशिक्षकहरू संचिता थापा मगर, पार्वती थापा मगर र ममता श्रेष्ठले प्रशिक्षण दिइरहनुभएको छ। तालिममा सहभागी अधिकांश प्रशिक्षार्थीहरू स्थानीय महिलाहरू नै रहेका छन्।

तालिम उद्घाटनकै सुखद अवसरमा नेवाः समाजका विभूति तथा ऐतिहासिक धरोहर शंखधर साख्वाको शालिकमा माल्यार्पण समेत गरिएको थियो। कार्यक्रम नेवाः देय दवु कञ्चनरुप नगर कार्यसमितिका अध्यक्ष कौशल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन भाजु पेशल जोसीले गर्नुभएको थियो।
लोप हुन लागेको पञ्चेबाजालाई नयाँ पुस्ता, विशेषगरी महिलाहरूले सिक्न पाउँदा स्थानीय नगरवासीहरूमा निकै उत्साह र खुसी छाएको छ।

   

You cannot copy content of this page