काठमाडौँ, १५ वैशाख । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि बुधबार (१६ वैशाख) देशका विभिन्न भागमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेको भन्दै सर्वसाधारणमा विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई उद्धृत गर्दै प्राधिकरणले कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही जिल्लाहरूमा हावाहुरीको उच्च जोखिम रहेको जनाएको छ।
कुन–कुन क्षेत्र बढी जोखिममा?
- कोशी प्रदेश: मोरङसहित आसपासका जिल्लाहरू।
- मधेश प्रदेश: धनुषा र बारासहित आसपासका जिल्लाहरू।
- लुम्बिनी प्रदेश: बर्दिया, बाँके, दाङ र अर्घाखाँचीसहित आसपासका जिल्लाहरू।
- सुदूरपश्चिम प्रदेश: डडेलधुरा र डोटीसहित आसपासका जिल्लाहरू।
विज्ञप्तिका अनुसार भोलि बुधबार साँझ ५:४५ बजेदेखि सुरु हुने हुरी पर्सी १७ गते बिहान ७:४५ बजेसम्म रहने अनुमान गरिएको छ। यस्तै, मेघगर्जन, चट्याङ र असिनासहितको वर्षा हुने प्रणाली पश्चिमबाट क्रमशः पूर्वतिर सर्दै जाने सम्भावना पनि देखिएको छ।
हुनसक्ने क्षति र प्राधिकरणको सुझाव
तीव्र हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना भत्किने, घरको छाना उड्ने र विद्युत् तथा सञ्चार सेवा प्रभावित हुनसक्ने जोखिम रहन्छ। यसबाट बच्न प्राधिकरणले निम्न सावधानी अपनाउन आग्रह गरेको छ:
- सकेसम्म घरबाहिर ननिस्कने र घरका झ्यालढोका राम्ररी बन्द गर्ने।
- जस्तापाताका छानाहरूलाई थप बलियो बनाउने।
- घरबाहिर आगो नबाल्ने र घरभित्र पनि सावधानी अपनाउने।
- लड्न सक्ने संरचना, अग्ला रुख, बिजुलीका खम्बा वा तारमुनि नबस्ने।
- उडाएर ल्याएका सामानबाट चोट लाग्न सक्ने भएकोले चनाखो रहने।
प्राधिकरणका प्रवक्ता शान्ति महतद्वारा जारी सूचनामा मौसम सम्बन्धी पछिल्लो जानकारीका लागि नियमित रूपमा अपडेट रहन र आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ।















