समाचार

राजविराजस्थित छिन्नमस्ता मेडिकल कलेजमा तोडफोड गर्ने दुई जना पक्राउ

राजविराज । सप्तरीको राजविराजस्थित छिन्नमस्ता एजुकेशनल एकेडेमी एण्ड मेडिकल कलेजमा तोडफोड र कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पक्राउ पर्नेहरूमा महादेवा गाउँपालिका वडा नं. ४ निवासी ४० वर्षीय मोहन कुमार यादव र विष्णुपुर गाउँपालिका वडा नं. ६ निवासी २९ वर्षीय निरज कुमार यादव रहेका छन्।
वैशाख १६ गते बेलुका करिब ४ः१० बजेको समयमा मादक पदार्थ सेवन गरेका ती व्यक्तिहरू अनधिकृत रूपमा अस्पतालभित्र प्रवेश गरेका थिए। उनीहरूले अस्पतालको काउन्टरमा रहेका कर्मचारीहरूसँग विवाद गरी गालीगलौज र धम्की दिएका थिए। सोही क्रममा उनीहरूले काउन्टरमा रहेको मनिटर लगायतका सामानहरू तोडफोड गरी क्षति पुर्‍याएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएलगत्तै खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।
मेडिकल कलेजका प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद मण्डलको जाहेरीका आधारमा उनीहरूविरुद्ध अपराधिक उपद्रह मुद्दा दर्ता गरिएको छ।
पक्राउ परेका दुवै जनालाई अदालतबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो।

   

You cannot copy content of this page