समाचार

सप्तरीमा सालको काठसहितको ट्याक्टर प्रहरी नियन्त्रणमा

कञ्चनरूप, २० वैशाख । जिल्ला प्रहरी कार्यालय सप्तरीले अवैध रूपमा ओसारपसार भइरहेको सालको काठ र सो काठ बोकेको ट्र्याक्टर नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार शनिबार राति करिब ९:३० बजे इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको गस्ती टोलीले उक्त काठ बरामद गरेको हो। 

सप्तरीको खडक नगरपालिका वडा नं. ८ स्थित बिसनपुर चोक नजिकै पूर्व-पश्चिम राजमार्गमा स.१ त ३१०२ नम्बरको ट्र्याक्टर बेवारिसे अवस्थामा फेला परेको थियो। चेकजाँचका क्रममा ट्र्याक्टरमा ३ थान (८० क्युफिट) सालको गोलिया फेला परेपछि प्रहरीले त्यसलाई नियन्त्रणमा लिएको हो। 

बरामद गरिएको काठको अनुमानित बजार मूल्य २ लाख ४० हजार रुपैयाँ र ट्र्याक्टरको मूल्य ६ लाख गरी जम्मा ८ लाख ४० हजार रुपैयाँ कायम गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो ।

थप अनुसन्धान र कारबाहीका लागि बरामद काठ र ट्र्याक्टरलाई सब डिभिजन वन कार्यालय कल्याणपुरमा बुझाइएको प्रहरीले जनाएको छ।

   

You cannot copy content of this page