समाचार

सप्तरीमा ५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

कञ्चनरूप, १६ जेठ। सप्तरीको छिन्नमस्ता गाउँपालिकामा ५ वर्षीया एक नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका वडा नं. ४ लालापट्टी टोल बस्ने १८ वर्षीय राजिव यादव रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीले दिएको जानकारी अनुसार जेठ १३ गते दिउँसो १२:०० बजेको समयमा ती बालिका गाउँकै एक घरमा खेलिरहेकी थिइन्। सोही क्रममा यादवले बालिकालाई ‘चकलेट र पैसा दिन्छु’ भनी फकाइ-फुलाई स्थानीय पोखरीको डिल नजिकै रहेको बाँसघारीमा पुर्‍याएका थिए।

बाँसघारीमा यादवले बालिकाको कपडा खोली जबरजस्ती करणी गर्न थालेपछि पीडित बालिका रोईकराई र चिच्याउन थालेकी थिइन्। बालिका चिच्याएको आवाज पोखरीमा कपडा धोइरहेका स्थानीय मानिसहरूले सुनेपछि उनीहरू घटनास्थलतर्फ दौडिएका थिए। स्थानीय आएको देखेपछि आरोपी यादव बालिकालाई छाडेर घटनास्थलबाट फरार भएका थिए।

घटनालगत्तै प्रहरीले गरेको तीव्र खोजतलासका क्रममा सोही दिन आरोपी यादवलाई लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको हो।

पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय सप्तरीमा दिएको किटानी जाहेरीका आधारमा यादवविरुद्ध जबरजस्ती करणी (ज.ज.क.) मुद्दा दर्ता गरिएको छ। 

पक्राउ परेका यादवलाई जिल्ला अदालत राजविराजबाट जेठ १३ गतेकै मितिदेखि लागू हुने गरी ३ (तीन) दिनको म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

   

You cannot copy content of this page