कञ्चनरूप । विगत चार दशकदेखि कञ्चनरूप क्षेत्रका बालबालिका, युवा तथा ज्येष्ठ नागरिकसम्मलाई आफ्नो आइसक्रिममार्फत मिठास र खुसी बाँड्दै आउनुभएका वसन्त राम (जुँगे काका) सम्मानित हुनुभएको छ। स्थानीय युवा तथा सामाजिक अभियन्ताहरूको पहलमा उहाँलाई नयाँ आधुनिक आइसक्रिम कार्ट उपहारस्वरूप हस्तान्तरण गरिएको हो।
हनुमाननगर कंकालिनी नगरपालिका–१४ पोर्ताहा स्थायी घर भई कञ्चनरूपलाई कर्मथलो बनाउँदै आउनुभएका रामले करिब ४० वर्षदेखि आइसक्रिम बिक्री गर्दै आफ्नो जीवनयापन गर्दै आउनुभएको छ। उहाँको सानो ठेला, आत्मीय व्यवहार र अनुहारको निष्कपट मुस्कान कञ्चनरूपवासीका लागि परिचित मात्र नभई भावनात्मक रूपमा समेत जोडिएको विषय बनेको छ।
स्थानीय बासिन्दाका अनुसार जुँगे काकाको आइसक्रिम केवल स्वादको विषय मात्र होइन, धेरैको बाल्यकालको अविस्मरणीय स्मृति पनि हो। एउटै परिवारका तीन पुस्ताले उहाँको हातको आइसक्रिमको स्वाद चाखिसकेका छन्। सीमित स्रोतसाधनका बाबजुद उहाँले वर्षौंदेखि निरन्तर सेवा गर्दै स्थानीय समुदायसँग गहिरो सम्बन्ध स्थापित गर्न सफल हुनुभएको छ।
उहाँको यही समर्पण, इमानदारी र समाजप्रतिको योगदानको सम्मानस्वरूप गौतम कुमार शरण तथा साथीहरूको विशेष पहलमा नयाँ तथा आधुनिक आइसक्रिम कार्ट निर्माण गरी आइतबार आयोजित एक कार्यक्रममा हस्तान्तरण गरिएको हो।

कार्ट हस्तान्तरण कार्यक्रममा बोल्दै अभियन्ताहरूले जुँगे काकाले वर्षौंदेखि समाजलाई दिएको माया, आत्मीयता र खुसीको मूल्य कुनै पनि उपहारले तिर्न नसकिने बताए। उनीहरूले यो कार्ट सम्पूर्ण कञ्चनरूपवासीको सम्मान, प्रेम र कृतज्ञताको प्रतीक भएको उल्लेख गरे।
अभियानलाई सफल बनाउन आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्ने सम्पूर्ण सहयोगीहरूलाई आयोजक टोलीले धन्यवाद व्यक्त गरेको छ। उनीहरूले समाजका यस्ता मेहनती, इमानदार र प्रेरणादायी व्यक्तित्वलाई सम्मान गर्न सक्नु नै ठूलो उपलब्धि भएको बताए।
नयाँ कार्ट प्राप्त गरेपछि जुँगे काकाको अनुहारमा खुसी झल्किएको थियो। उपस्थित स्थानीयवासीहरूले उहाँको मुस्कान र आइसक्रिमको मिठास अझै धेरै वर्षसम्म यस क्षेत्रका नागरिकले अनुभव गर्न पाऊन् भन्ने शुभकामना व्यक्त गरेका छन्।
स्थानीयहरूका अनुसार यो अभियानले समाजमा योगदान पुर्याउने सामान्य तर असाधारण व्यक्तित्वलाई सम्मान गर्ने संस्कृतिको विकास गरेको छ। जुँगे काकाप्रति देखाइएको सम्मानले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै मानवीय मूल्य, सम्मान र कृतज्ञताको भावनालाई थप बलियो बनाएको छ।











