कञ्चनरूप, २१ जेठ । सप्तरी प्रहरीले मोटरसाइकल चोरी मुद्दामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार डाक्नेश्वरी नगरपालिका–८ निवासी २१ वर्षीय मोहम्मद हकिमलाई मोटरसाइकल चोरी घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरिएको हो।
प्रहरीका अनुसार जेठ २० गते बेलुका करिब ७ बजे बोदेबर्साइन नगरपालिका–५ मा पार्किङ गरी राखिएको अस्थायी नम्बर P1-02-0060 PA 2135 भएको कालो रंगको MT15 One Test मोटरसाइकल चोरी भएको भन्दै मोटरसाइकल धनीले प्रहरीमा उजुरी दिएका थिए।
उजुरीपछि खोजतलासमा खटिएको प्रहरी टोलीले साउन २० गते नै बेलुका करिब ८ बजे बोदेबर्साइन नगरपालिका–५ स्थित भटिन टोलबाट चोरी भएको मोटरसाइकल बरामद गरेको थियो। सो क्रममा मोटरसाइकल लिँदै गर्दा लडी घाइते अवस्थामा रहेका हकिमलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका हकिमविरुद्ध चोरी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। यस सम्बन्धमा जिल्ला अदालत राजविराजबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।










