कञ्चनरुप, २२ जेठ । सप्तरीको सप्तकोशी नगरपालिका–३ नयाँ बस्ती क्षेत्रमा जंगली हात्तीको हूल पसेर किसानको पाक्न लागेको मकैबाली नष्ट गरेको छ। बिहीबार राति बस्ती नजिकै आएको हात्तीको ठूलो समूहले स्थानीयको करिब एक बिघा क्षेत्रफलमा लगाइएको मकैबाली पूर्ण रूपमा सखाप पारेको हो।
वर्षभरि दुःख गरेर उत्पादन गरेको बाली भित्र्याउने तयारीमा रहेका किसानको खेतमा हात्तीको हूल प्रवेश गरेपछि केही क्षणमै सम्पूर्ण मकैबाली नष्ट भएको किसान दुर्गा प्रसाद फुयाल बताउँछन् । यस घटनापछि पीडित किसान ठूलो आर्थिक संकटमा परेका छन्।
स्थानीयवासीका अनुसार सप्तकोशी क्षेत्र आसपासका बस्तीमा प्रत्येक वर्ष जंगली हात्तीको हूल प्रवेश गर्ने गरेको छ। हात्तीका कारण खेतीपातीमा क्षति हुनुका साथै स्थानीय बासिन्दाको जिउज्यानसमेत जोखिममा पर्ने गरेको उनीहरूको गुनासो छ।
पीडित किसान दुर्गा प्रसाद फुयालले सम्बन्धित निकायले समयमै ध्यान नदिँदा र प्रभावकारी उपाय अवलम्बन नगर्दा किसानहरूले बारम्बार क्षति व्यहोर्नुपरेको बताए। उनले नष्ट भएको बालीको उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्।

यस्तै, स्थानीय बासिन्दा रमेश थापाले हात्तीको आतंकका कारण गाउँका बासिन्दा रातभर जाग्राम बस्न बाध्य भएको बताए। “कुन बेला हात्ती बस्तीमा पस्छ र कसको ज्यान जोखिममा पर्छ भन्ने त्रासले स्थानीयहरू सधैं भयभीत छन्,” उनले भने।
स्थानीयवासीहरूले पीडित किसानलाई तत्काल राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन, हात्ती नियन्त्रणका लागि दीर्घकालीन योजना लागू गर्न र रातिको समयमा वन तथा सुरक्षाकर्मीको गस्ती बढाउन सम्बन्धित निकायसँग माग गरेका छन्।
स्थानीय सरकार, वन कार्यालय तथा वन्यजन्तु संरक्षणसँग सम्बन्धित निकायले हात्तीको आतंक नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न नसके किसानको जीविकोपार्जन र स्थानीय बासिन्दाको सुरक्षा थप संकटमा पर्ने देखिएको छ।












