कञ्चनरूप, २२ जेठ । सप्तरी प्रहरीले लागूऔषध गाँजा बरामद गरी दुई जनाविरुद्ध मुद्दा दर्ता गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार जेठ २२ गते बिहान करिब ३ः३० बजे सप्तकोशी नगरपालिका–१ हेँडबाध स्थित सडकखण्डमा शंकास्पद रूपमा हिँडिरहेका व्यक्तिलाई जाँच गर्ने क्रममा लागूऔषध गाँजा फेला परेको हो।
प्रहरीले हेँडबाधबाट फतेपुरतर्फ जाँदै गरेका सप्तकोशी नगरपालिका–१ फतेपुर निवासी ४३ वर्षीय भूपराज कार्कीलाई रोकी जाँच गर्दा उनले बोकेको झोलाबाट १३ किलो २२ ग्राम गाँजा बरामद गरेको जनाएको छ।
उक्त गाँजाको स्रोतबारे सोधपुछ गर्ने क्रममा कार्कीले सो लागूऔषध सप्तकोशी–१ कै २८ वर्षीय ठाकुरकुमार लेखीको भएको बताएका थिए। त्यसपछि प्रहरीले लेखीको घरमा खानतलासी गर्दा थप ९ किलो ९२ ग्राम गाँजा बरामद गरेको थियो।
बरामद गाँजासहित दुवै जनालाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसुरमा सप्तरी जिल्ला अदालत, राजविराजबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।












