कञ्चनरूप, २८ जेठ । सप्तरीको कञ्चनरूप नगरपालिका–१२, रुपनगरमा आत्महत्या न्यूनीकरणसम्बन्धी एकदिने तालिम बिहीबार सम्पन्न भएको छ। वडा कार्यालय रुपनगरको आर्थिक सहयोग तथा आयोजनामा सरोकारवालाहरूका लागि उक्त तालिम सञ्चालन गरिएको हो।
वडा कार्यालयको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आयोजना गरिएको तालिममा युवायुवती, महिला–पुरुष, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो।
तालिम समापन कार्यक्रममा बोल्दै वडा नं. १२ का अध्यक्ष देवीबहादुर खत्रीले वडाको नीति तथा कार्यक्रमअनुसार आत्महत्या न्यूनीकरणसम्बन्धी तालिम सञ्चालन गरिएको बताए। उनले आत्महत्या रोकथामका लागि आवश्यक जनचेतना अभिवृद्धि गर्न बजेट विनियोजन गरी तालिम आयोजना गरिएको जानकारी दिए।

“तालिममा सहभागीहरूले समुदायस्तरमा परामर्श तथा सचेतनामूलक गतिविधि सञ्चालन गरी आत्महत्याको जोखिममा रहेका व्यक्तिहरूलाई सहयोग पुर्याउनेछन्,” अध्यक्ष खत्रीले भने।
तालिममा सहभागी सीता कार्कीले एकदिने तालिम अत्यन्तै उपलब्धिमूलक रहेको बताइन्। अन्य दुर्घटनाका घटनामा समाजको ध्यान जाने गरे पनि आत्महत्याजस्तो संवेदनशील विषयमा पर्याप्त चासो नदिइने अवस्थाबीच तालिमले आफ्नो कार्यक्षेत्रमा काम गर्न सहज बनाउने विश्वास व्यक्त गरिन्। उनले तालिमबाट प्राप्त ज्ञानले समुदायमा चेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्ने बताइन्।
अर्का सहभागी मनिष लामिछानेले ग्रामीण क्षेत्रका मानिसहरूलाई यस्ता विषयमा सिक्ने अवसर कम हुने भएकाले तालिम निकै उपयोगी भएको बताए। उनले तालिमबाट सिकेका कुरा समुदाय, विद्यालय तथा कलेजसम्म पुर्याउन आफूहरू प्रतिबद्ध रहेको उल्लेख गरे। आत्महत्या न्यूनीकरणका लागि गाउँ–गाउँमा पुगेर सचेतना फैलाउने योजना रहेको उनको भनाइ थियो।

वडा सदस्य जैनुद्दिन मियाँले कञ्चनरूप नगरपालिकामा आत्महत्या न्यूनीकरणसम्बन्धी यस्तो तालिम पहिलोपटक सञ्चालन गरिएको जानकारी दिँदै यसले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने र आत्महत्या रोकथाममा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
नेपाल पत्रकार महासंघ सप्तरी शाखाका खुला सदस्य उत्तम आचार्यले पछिल्ला दिनहरूमा आत्महत्याका घटना बढ्दै गएको उल्लेख गर्दै यस्ता तालिमले मानसिक समस्या पहिचान गरी समयमै समाधान खोज्न सहयोग पुग्ने बताए। तालिममा सहभागीहरूले समुदायमा गर्ने परामर्श तथा सचेतनामूलक कार्यबाट अकालमै ज्यान गुमाउने अवस्था न्यूनीकरण गर्न सकिने उनको धारणा थियो।
तालिमका प्रशिक्षकद्वय इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लेखबहादुर विष्ट र कञ्चनरूप नगरपालिकाकी मनोसामाजिक परामर्शदाता इन्द्रा राईले आत्महत्या रोकथामका लागि सम्पर्क, संवाद र सहकार्य अत्यन्त आवश्यक रहेको बताए। उनीहरूले वडा कार्यालयले विभिन्न निकायसँग समन्वय गरी आत्महत्या रोकथामका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

प्रशिक्षकहरूले विश्व स्वास्थ्य संगठन (WHO) को तथ्यांक उद्धृत गर्दै विश्वमा प्रत्येक वर्ष करिब ८ लाख मानिसले आत्महत्या गर्ने गरेको जानकारी गराए। नेपालमा वार्षिक करिब ५ हजार व्यक्तिले आत्महत्या गर्ने गरेको र आत्महत्या दरका आधारमा नेपाल विश्वका उच्च जोखिमयुक्त मुलुकहरूमध्ये एक रहेको उल्लेख गरे।
उनीहरूका अनुसार आत्महत्या गर्ने व्यक्तिमध्ये पुरुषहरूको संख्या महिलाको तुलनामा बढी रहेको छ। नेपालमा करिब ९० देखि ९५ प्रतिशत आत्महत्या मानसिक स्वास्थ्य समस्यासँग सम्बन्धित हुने, जसमध्ये ८० प्रतिशतमा डिप्रेसन प्रमुख कारण रहने तथ्य प्रस्तुत गरिएको थियो। साथै, कडा मानसिक तनाव तथा वृद्धावस्थामा देखिने अल्जाइमर्सलगायतका समस्याले पनि आत्महत्याको जोखिम बढाउने जानकारी दिइयो।
विश्वभर प्रत्येक ४० सेकेन्डमा एक जनाले आत्महत्या गर्ने तथ्यांक प्रस्तुत गर्दै प्रशिक्षकहरूले आत्महत्या रोकथामका लागि परिवार, समुदाय, विद्यालय, स्वास्थ्यकर्मी तथा स्थानीय सरकार सबैको साझा प्रयास आवश्यक रहेको बताए।
वडा अध्यक्ष देवीबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन वडा सचिव द्वारिका निरौलाले गरेकी थिइन्।












