कञ्चनरुप, ३१ जेठ । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ रुपनगरको आयोजनामा संचालित दुई दिने लैङिक हिंसा न्यूनीकरण सम्बन्धि तालिम आइतबार सम्पन्न भएको छ ।
समापन कार्यक्रममा बोल्दै वडा सदस्य जैनुद्दिन मियाँले यश तालिमले लैङिक हिंसा न्यूनीकरण , महिला तथा बालबालिकाको अधिकार संरक्षण , समानता , सम्मान र सुरक्षित समाज निर्माणका लागि सहभागीहरुमा ज्ञान , सीप र सचेतना अभिबृद्दी गर्ने बिश्वास लिएको बताए ।
उनले भने देशमा लैङ्गिक हिंसा न्यूनीकरण र महिला सशक्तीकरणका लागि सरकारी तथा गैरसरकारी स्तरबाट विभिन्न प्रयासहरू भए पनि महिलालाई आर्थिक र सामाजिक रूपमा आत्मनिर्भर नबनाएसम्म हिंसा मुक्त समाज निर्माण गर्न नसकिने र लैङ्गिक हिंसा र महिला सशक्तीकरण एकअर्काका परिपूरक रहेकाले दुवै पक्षलाई सँगसँगै लैजानुपर्नेमा जोड दिइएको छ।

नेपाल पत्रकार महासंघ सप्तरी शाखाका खुल्ला सदस्य उत्तम आचार्यले समाजमा विद्यमान पितृसत्तात्मक सोच र हानिकारक परम्परागत प्रथाहरू नै लैङ्गिक हिंसाका मुख्य कारण हुन्। यसलाई न्यूनीकरण गर्न विद्यालय तहदेखि नै चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने र कानुनको कडा कार्यान्वयन गरिनुपर्ने आवश्यकता देखिएको र हाल स्थानीय तहसम्म कानुनी साक्षरता र सचेतनाका कार्यक्रमहरू सञ्चालन हुनु पर्नेमा जोड दिए ।
पछिल्लो समय प्रविधिको विकाससँगै अनलाइन र सामाजिक सञ्जालमार्फत हुने डिजिटल हिंसा नयाँ चुनौतीका रूपमा देखा परेको छ। यसलाई नियन्त्रण गर्न साइबर सुरक्षा र कानुनी उपचारलाई थप सुदृढ बनाउनुपर्ने माग उठिरहेको छ। सरकारले हिंसा पीडितका लागि अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्र (OCMC) र सुरक्षित आश्रय स्थलहरूको व्यवस्था गरेको भए पनि यसको पहुँच अझै विस्तार गर्नुपर्ने आचार्यको भनाइ रहेको थियो ।

प्रशिक्षक कञ्चनरूप नगरपालिकाका प्रशासकीय अधिकृत नवराज खडकाले महिला सशक्तीकरणका लागि आर्थिक आत्मनिर्भरता सबैभन्दा महत्त्वपूर्ण आधार रहेको बताउदै महिलाहरूको सीपमूलक तालिम, रोजगारी, र सम्पत्तिमाथिको स्वामित्वले उनीहरूको आत्मविश्वास बढाएको अध्ययनहरूले देखाएको र शिक्षा र स्वास्थ्यमा पहुँच वृद्धिका साथै नीति निर्माण र प्रशासनिक नेतृत्व तहमा महिलाको अर्थपूर्ण सहभागिताले मात्र वास्तविक सशक्तीकरण सम्भव हुने बताए । ‘सशक्त महिला, समृद्ध नेपाल’ को राष्ट्रिय लक्ष्य हासिल गर्न राज्य, नागरिक समाज र स्थानीय समुदायको एकीकृत प्रयास आवश्यक रहेकोमा खडकाले जोड दिएका थिए ।
तालिममा सहभागी मिरादेवी गौतम र असोक खड्काले तालिममा सिकेका कुरालाई पालना गर्दै गाउँ गाउँ र टोल बस्तिमा गइ लैङिक हिंसा न्यूनीकरण गर्न सक्रिय भएर लाग्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
तालिममा महिला , पुरुष , बालबालिका , संचारकर्मी र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
कार्यपालिका सदस्य एवं वडा सदस्य सीता पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन वडा सचीव द्वारिका निरौलाले गरेकी थिइन ।









