कञ्चनरूप, २ असार । अपहरण गरी कर्तव्य ज्यान गरेको घटनामा संलग्न भई फरार रहेका दुई जना अभियुक्तलाई सप्तरी प्रहरीले ११ वर्षपछि पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर १ बस्ने ६९ वर्षीय दाउद मियाँ र सिरहाको लहान नगरपालिका वडा नम्बर १९ घर भई हाल सुरुङ्गामै बस्दै आएका ६० वर्षीय नसिर भन्ने बसिर मियाँ रहेका छन् ।
प्रहरीका अनुसार २०७२ साल भदौ २९ गते राति सुरुङ्गा नगरपालिका वडा नम्बर १ का ऐनुल मियाँ आफ्नै घरमा बसिरहेका थिए। सोही समयमा आरोपीहरूले उनलाई घरैबाट नियन्त्रणमा लिई अपहरण गरेका थिए। अपहरणपछि बन्धक बनाएर उनलाई स्थानीय बलान खोलाको बाटो हुँदै पानीमा डुबाई क्रूरतापूर्वक हत्या गरिएको अनुसन्धानबाट खुलेको थियो।
घटनालगत्तै मृतकका बुहारी रोशन खातुनले दिएको जाहेरीका आधारमा प्रहरीले अभियुक्तहरूको खोजी गरिरहेको थियो। हत्यापछि फरार भएका उनीहरू विगत ११ वर्षदेखि प्रहरीको आँखा छलेर लुकिछिपी बस्दै आएका थिए।
विशेष सूचना र सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको विशेष टोलीले खोजी कार्य तीव्र पारेको थियो। सोही क्रममा लुकिछिपी बसिरहेको अवस्थामा दाउद मियाँलाई गत जेठ २४ गते र अर्का प्रतिवादी नसिर भन्ने बसिर मियाँलाई जेठ ३१ गते प्रहरीले सुरुङ्गा नगरपालिका क्षेत्रबाटै पक्राउ गरेको हो।
पक्राउ परेका दुवै जनालाई सप्तरी जिल्ला अदालत राजविराजबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिएका छन्।








