कञ्चनरूप, ४ असार । सप्तरी प्रहरीले मञ्जुरी बिना विवाह गराएको विवाह सम्बन्धी कसुर मुद्दामा एक जनालाई पक्राउ गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले प्रेस विज्ञप्ति जारी गर्दै उक्त विवाह सम्बन्धी कसुर मुद्दाका प्रतिवादीलाई पक्राउ गरी कानुनी कारबाही अगाडि बढाएको जानकारी दिएको हो।
पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर ९ बस्ने २४ वर्षीय मनोज ठाकुर रहेका छन्। उनलाई प्रहरीले खोजी कार्य गर्ने क्रममा पक्राउ गरेको हो।
प्रहरीका अनुसार गत २०८२ साल जेठ ३१ गते बेलुका अन्दाजी ५:३० बजेको समयमा सुरुङ्गा नगरपालिका वडा नम्बर ९ स्थित श्री केशव स्मारक जनता माध्यमिक विद्यालयको प्राङ्गणमा रहेको सरस्वती मन्दिरमा यो घटना भएको थियो। जाहेरवाला नागेन्द्र यादवको इच्छा र मञ्जुरी विपरीत सुरुङ्गा नगरपालिका वडा नम्बर १० बस्ने २२ वर्षीया प्रियंका कुमारी यादवसँग प्रतिवादी मनोज ठाकुरले जबर्जस्ती विवाह गराइदिएका थिए।
घटना लगत्तै प्रतिवादी ठाकुर फरार भएका थिए। त्यसपछि पीडित पक्षका नागेन्द्र यादवले दिएको जाहेरी दरखास्तका आधारमा प्रहरीले खोजी कार्य तीव्र पारेको थियो।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (DSP) हेमराज घिमिरेका अनुसार पक्राउ परेका ठाकुरलाई असार २ गते फेला पारी नियन्त्रणमा लिइएको हो।
उनलाई जिल्ला अदालत राजविराज सप्तरीबाट असार २ गतेदेखि नै लागू हुने गरी ५ (पाँच) दिनको म्याद थप गराई हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।









