समाचार

सप्तरी प्रहरीद्वारा चोरी घटनामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ

कञ्चनरूप, ८ असार । सप्तरी प्रहरीले चोरीसम्बन्धी दुई फरक घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पक्राउ परेका दुवै जनामाथि अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार पहिलो घटनामा मकवानपुर हेटौंडा उपमहानगरपालिका–१५ नयाँ बस्ती निवासी २४ वर्षीय विक्रम भन्ने चन्द्रबहादुर पाक्रिन पक्राउ परेका छन्। 

असार ७ गते अपराह्न ४ बजे हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कंकालिनी होटल एण्ड लज नजिक पूर्व–पश्चिम राजमार्गमा बा २८ प ४२४० नम्बरको कार शंकास्पद अवस्थामा रोकी जाँच गर्ने क्रममा चालकले गाडीका कागजात तथा सवारी चालक अनुमति पत्र देखाउन नसकेपछि उक्त सवारी चोरीको हुनसक्ने आशंकामा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरी प्रतिवेदनका आधारमा उनीविरुद्ध चोरी मुद्दा दर्ता गरी सम्मानित सप्तरी जिल्ला अदालतबाट चार दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाइएको छ।

यस्तै, सप्तरीको शम्भुनाथ नगरपालिका–१२ निवासी २५ वर्षीय रमेश सरदार पक्राउ परेका छन्। 

असार ७ गते बिहान २ः२५ बजे राजकुमारी साहको घरबाट चोरी गरी लगिएको खुसी (बाख्रा) सहित उनलाई शम्भुनाथ नगरपालिका–१२ हुलाकी राजमार्ग क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीले चोरी भएको बाख्रा बरामद गरी सम्बन्धित धनीलाई बुझाउने प्रक्रिया अघि बढाएको जनाएको छ। 

पक्राउ परेका रमेश सरकारविरुद्ध पनि चोरी मुद्दा दर्ता गरी सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

   

You cannot copy content of this page