समाचार समाज

१ लाख बढीको विभिन्न किरानाका सामानहरू प्रहरी नियन्त्रणमा 

कञ्चनरूप । जिल्ला प्रहरी कार्यालय सप्तरीले अवैध रूपमा भन्सार छली ल्याइएका विभिन्न किराना सामानहरू नियन्त्रणमा लिएको छ। प्रहरी चौकी तिलाठी समरीबाट खटिएको टोलीले उक्त सामानहरू बरामद गरेको हो।

प्रहरीका अनुसार असार १० गते दिउँसोको करिब ०१:३० बजेको समयमा प्रहरी टोली गस्तीमा निस्किएको थियो। गस्ती गर्ने क्रममा तिलाठी कोईलाडी गाउँपालिका वडा नं. ०२ तिलाठी स्थित भारत कुनौली तर्फबाट राजविराज जाने कालोपत्रे सडक खण्डमा बेवारिसे अवस्थामा रहेका बोराका पोकाहरू फेला परेका थिए।

सडकको पश्चिम किनारमा भुईँमा राखिएका ती शङ्कास्पद बोराहरू कानुन बमोजिम खोलेर हेर्दा भन्सार छली ल्याइएका विभिन्न किसिमका किराना सामानहरू फेला परेका हुन्।

प्रहरीले नियन्त्रणमा लिएका ती किराना सामानहरूको कुल अनुमानित बजार मूल्य १ लाख १६ हजार ४ सय ७० रुपैयाँ बराबर रहेको जनाइएको छ।

बरामद गरिएका सम्पूर्ण सामानहरूलाई आवश्यक कानुनी कारबाहीका लागि शुक्रबार राजविराज भन्सार कार्यालय तिलाठी, सप्तरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (DSP) हेमराज घिमिरेले जानकारी दिनुभएको छ।

   

You cannot copy content of this page