कञ्चनरूप (सप्तरी), १९ असोज । सप्तरीबाट १० वर्षअघि बेपत्ता भएका एक बालकलाई प्रहरीले भारतबाट उद्धार गरी परिवारको जिम्मा लगाएको छ।
जिल्लाको अग्निसाइर कृष्णासवरण गाउँपालिका–६ का ऋषि देव सदाका छोरा (हाल १६ वर्षका) शिवकुमार सदा करिब १० वर्षअघि आफ्नै घरबाट हराएका थिए। लामो समयदेखि सम्पर्कविहीन रहेका शिवकुमार भारतको नयाँ दिल्लीमा रहेको जानकारी पाएपछि परिवारले खोजीका लागि पहल गरेको थियो।
जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सप्तरीले भारतस्थित ‘किङ इन्डिया’ नामक संस्थासँग आवश्यक समन्वय गरी बालकको खोजी तथा उद्धार प्रक्रिया सुरु गरेको थियो। उक्त संस्थाको निरन्तर प्रयासपछि शिवकुमारलाई सकुशल नेपाल फिर्ता ल्याइएको हो।
सप्तरीका निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) हेमराज घिमिरेसँगको समन्वयमा असोज १८ गते बालकलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको थियो। त्यसपछि अग्निसाइर कृष्णासवरण गाउँपालिका–६ का स्थानीय जनप्रतिनिधिको रोहवरमा बालकलाई औपचारिक रूपमा अभिभावकको जिम्मा लगाइएको छ।
लामो समयपछि छोरालाई सकुशल फेला पारेपछि परिवारमा खुसीयाली छाएको छ। सप्तरी प्रहरीले हराएका बालबालिकाको खोजी तथा उद्धारका लागि विभिन्न सम्बन्धित निकाय र साझेदार संस्थाहरूसँग निरन्तर समन्वय गर्दै आएको जनाएको छ।












