समाचार

सांगीतिक क्षेत्रदेखि स्थानीय नेतृत्वसम्म : कञ्चनरूप हाक्ने दौडमा शेखर कुमार वाग्ले

कञ्चनरूप, सप्तरी — सप्तरीको कञ्चनरूप नगरपालिकाको आगामी नेतृत्वका लागि युवा पुस्ताबाट शेखर कुमार वाग्ले (सिड वाग्ले) ले आफ्नो दाबी अघि सारेका छन्। शिक्षा, व्यवसाय, संगीत, सामाजिक सेवा तथा युवा संगठनको लामो अनुभव बोकेका वाग्लेले अब आफ्नो जन्मभूमिको समग्र विकासमा प्रत्यक्ष राजनीतिक तथा सामाजिक नेतृत्व लिने घोषणा गरेका हुन्।

कञ्चनरूप–मिलटोलमा जन्मिएका वाग्लेले नेपालमा प्लस टूको अध्ययन पूरा गरी उच्च शिक्षाका लागि बेलायत पुगेका थिए। बेलायतमा करिब पाँच वर्ष अध्ययन तथा अन्तर्राष्ट्रिय अनुभव हासिल गर्दा पनि उनले आफ्नो गाउँ र मधेशसँगको सम्बन्धलाई निरन्तर जोडी राखे। संगीतमार्फत मधेशको पहिचान विश्वसामु पुर्‍याउने क्रममा उनको चर्चित र्‍याप ‘मधेश मेरो पहिचान’ मा रुपनगर, चन्द्र नहर, सप्तकोशी नदी तथा मधेशी संस्कृतिको मौलिकतालाई उजागर गरिएको छ।

सांगीतिक तथा सामाजिक क्षेत्रमा दिएको योगदानको कदरस्वरूप उनले विभिन्न राष्ट्रिय सम्मान प्राप्त गरिसकेका छन्। हालै उनलाई ‘राष्ट्रिय रत्न सम्मान–२०८२’ अन्तर्गत उत्कृष्ट र्‍याप कलाकारका रूपमा सम्मानित गरिएको थियो। कला बाहेक युवा राजनीतिमा पनि सक्रिय वाग्ले राष्ट्रिय युवा संघ नेपाल अन्तरजिल्ला समिति सप्तरीको अध्यक्ष पदमा निर्वाचित भई नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन्।

बेलायतको बसाइ र वैदेशिक अनुभवलाई अब आफ्नै नगरको समृद्धिमा लगाउने बताउँदै वाग्लेले कञ्चनरूपका १२ वटै वडाका समस्यालाई नजिकबाट नियालेर दीर्घकालीन समाधानको खाका तयार पारिरहेको बताएका छन्। उनले मुख्य गरी:

  • सडक, नाला, खानेपानी र ढल निकास
  • शिक्षा र स्वास्थ्य संस्थाको गुणस्तर सुधार
  • कृषि, सिँचाइ तथा फोहोरमैला व्यवस्थापन
  • वर्षायाममा हुने बाढी र डुबानको स्थायी समाधान
  • युवा पलायन रोक्न स्थानीयस्तरमै रोजगारीको सिर्जना
  • प्रशासनिक सेवालाई जनमुखी र पारदर्शी बनाउने

जस्ता विषयलाई प्रमुख प्राथमिकतामा राखेका छन्।

“समस्या गनेर मात्रै हुँदैन; घर-घर पुगेर जनताको दुःख सुन्ने, वडा-वडाको यथार्थ बुझ्ने र स्पष्ट योजनासहित नतिजा देखाउने नेतृत्व आजको आवश्यकता हो,” वाग्लेले भने।

विकासमा कुनै पनि आधारमा विभेद हुन नहुने धारणा राख्दै उनले थपे, “देश एक, रगत एक, तर जात, धर्म र सोच किन अनेक? विकास जात वा धर्मका आधारमा होइन, समानता र सम्मानका आधारमा हुनुपर्छ।”

कञ्चनरूपका सबै १२ वडालाई समान प्राथमिकता दिएर जनताको विश्वास जित्ने र त्यसलाई कामबाटै प्रमाणित गर्ने दृढ संकल्पका साथ आफू चुनावी मैदान तथा स्थानीय नेतृत्वको तयारीमा जुटेको वाग्लेले स्पष्ट पारेका छन्।

You cannot copy content of this page