विराटनगर, २० असार । मानव अधिकार रक्षक तथा विभिन्न घटनाका पीडितहरूको न्यायमा पहुँच सुनिश्चित गर्न र आपतकालीन अवस्थामा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश कार्यालयद्वारा गठन गरिएको मानव अधिकार सहायता कक्ष पुनर्गठन गरिएको छ।
इन्सेक कोशी प्रदेशका संयोजक मनोहरकुमार पोखरेलको अध्यक्षतामा सम्पन्न बैठकले ज्येष्ठ नागरिक महासंघ कोशी प्रदेशका अध्यक्ष मणिकुमार अर्ज्याललाई मानव अधिकार सहायता कक्षको संयोजकमा चयन गरेको हो।
बैठकमा राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेशका सहसचिव वीरबहादुर बुढा मगरले मानव अधिकार सहायता कक्षले पीडितहरूलाई न्यायमा पहुँच स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो। उहाँले मानव अधिकार उल्लङ्घनका घटनामा पीडितहरूलाई कानुनी तथा आर्थिक सहयोग आवश्यक पर्ने अवस्थामा इन्सेकद्वारा सञ्चालित सहायता कक्ष प्रभावकारी सावित भएको उल्लेख गर्नुभयो।

त्यस्तै, विराटनगर महानगरपालिका–११ का वडाध्यक्ष तथा न्यायिक समिति सदस्य तीर्थेन्द्र न्यौपानेले इन्सेकले पीडितलाई न्याय दिलाउन गरेको सहयोग प्रशंसनीय रहेको बताउनुभयो। राज्यले मानव अधिकारको संरक्षण गर्ने जिम्मेवारी बोके पनि इन्सेकजस्ता संस्थाको सक्रियताले राज्यलाई समेत आफ्नो दायित्व पूरा गर्न सहयोग पुगेको उहाँको भनाइ थियो। बहुअपाङ्गता भएका बालकको जन्मदर्ता प्रक्रियामा इन्सेकले गरेको सहजीकरण राज्यकै काममा महत्वपूर्ण सहयोग भएको उहाँले उल्लेख गर्नुभयो।
बैठकमा सहायता कक्षको उद्देश्य र हालसम्मका गतिविधिबारे जानकारी दिँदै इन्सेक कोशी प्रदेशका संयोजक मनोहरकुमार पोखरेलले जोखिममा परेका मानव अधिकार रक्षक तथा मानव अधिकार उल्लङ्घनका पीडितहरूको उद्धार, राहत, पुनर्स्थापना तथा आपतकालीन आवश्यकतामा सहयोग गर्दै न्यायमा पहुँच सुनिश्चित गर्न सहायता कक्षले प्रभावकारी भूमिका खेल्दै आएको बताउनुभयो।
उच्च अदालत बार एशोसिएसनका अध्यक्ष हरि बरालले सहायता कक्षले मानव अधिकारको अवधारणालाई व्यवहारमा उतार्न सफल भएको बताउँदै पीडितको न्यायका लागि यसले खेलेको भूमिका अत्यन्त प्रशंसनीय रहेको धारणा राख्नुभयो। उहाँले सहायता कक्ष पीडितहरूको अभिभावकका रूपमा स्थापित भएको टिप्पणी गर्नुभयो।
त्यसैगरी, सिविन नेपाल मोरङका संयोजक तथा मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष वासु अधिकारीले मानव अधिकार सहायता कक्षले कानुनी उपचार र न्याय प्राप्तिका लागि पीडितहरूलाई महत्वपूर्ण आधार प्रदान गरेको बताउनुभयो। अधिकारको क्षेत्रमा कार्यरत धेरै संस्थासँग आर्थिक सहयोग गर्ने क्षमता नहुँदा इन्सेकको सहायता कक्षले पीडितहरूलाई प्रत्यक्ष राहत र कानुनी सहयोग उपलब्ध गराउँदै आएको उहाँको भनाइ थियो।
इन्सेक कोशी प्रदेश कार्यालयले सञ्चालन गर्दै आएको मानव अधिकार सहायता कक्षमार्फत मानव अधिकार रक्षक तथा विभिन्न घटनाका पीडितहरूलाई कानुनी प्रक्रिया अघि बढाउन आवश्यक सहयोग, परामर्श तथा न्यायमा पहुँच स्थापित गर्न निरन्तर सहजीकरण गर्दै आएको जनाएको छ।










