काठमाडौं, २२ असार । ललितपुरमा सार्वजनिक स्थानमा एक महिलासामु अश्लील हर्कत गर्दै गोप्य अङ्ग प्रदर्शन गरेको आरोपमा रक्षा मन्त्रालयका एक शिक्षा अधिकृत पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका–७ स्थायी घर भई हाल ललितपुर महानगरपालिका–२ इमाडोल बस्दै आएका ५५ वर्षीय सुरेन्द्र भट्ट रहेका छन्। प्रारम्भिक अनुसन्धानका क्रममा उनी सिंहदरबारस्थित रक्षा मन्त्रालयमा शिक्षा अधिकृतका रूपमा कार्यरत रहेको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका–२ इमाडोलस्थित सार्वजनिक स्थानमा भट्टले एक महिलासामु गोप्य अङ्ग प्रदर्शन गरेका थिए। पीडित महिलाले उक्त घटनाको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि घटना बाहिर आएको हो।
भिडियो सार्वजनिक भएपछि प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले भट्टलाई पक्राउ गरेको थियो।
पक्राउ परेका भट्टलाई प्रहरी वृत्त सातदोबाटोको हिरासतमा राखी मुलुकी अपराध संहिता बमोजिम कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।











