समाचार समाज

सप्तरीमा महिलालाई रुखमा बाँधेर कुटपिट गरेको आरोपमा एक पक्राउ

AI बाट निर्मित फोटो

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा एक महिलालाई रुखमा बाँधेर कुटपिट तथा अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तिलाठी कोइलाडी गाउँपालिका–६ मंसापुरका दिलीप कुमार मण्डल रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार गत असार २२ गते दिउँसो करिब ४:३० बजे मण्डलले पीडित महिलाको घरमा जबरजस्ती प्रवेश गरी उनलाई घरबाट बाहिर ल्याएर सखुवाको रुखमा बाँधी निर्घात कुटपिट गरेका थिए। कुटपिटका क्रममा पीडितले लगाएका सुनचाँदीका गरगहनासमेत खोसेर उनी घटनास्थलबाट फरार भएका थिए।

घटनापछि पीडित महिलाले दिलीप मण्डलसहित चार जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय सप्तरीमा किटानी जाहेरी दर्ता गराएकी थिइन्। त्यसपछि प्रहरीले खोजतलास तीव्र बनाउँदै मण्डललाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार पक्राउ परेका मण्डललाई जिल्ला प्रहरी कार्यालयमा राखी सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ। अन्य आरोपितहरूको खोजी कार्यसमेत जारी रहेको प्रहरीले जनाएको छ।

   

You cannot copy content of this page