राजविराज, ५ साउन । सप्तरी प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका विभिन्न किराना सामान, कपडा तथा तीन थान मोटरसाइकल बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बिहीबार बिहान करिब ११:३० बजे राजविराज नगरपालिका–६ स्थित बाणेश्वरी मन्दिर क्षेत्रमा गस्ती गरिरहेको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका तीनवटा मोटरसाइकल देखेपछि जाँच गरेको थियो।
प्रहरीका अनुसार भारतीय नम्बर प्लेट भएका BR 32 AA 8847 नम्बरको हिरो ग्ल्यामर, BR 32 B 9426 नम्बरको बजाज डिस्कभर १२५ र BR 50 F 4371 नम्बरको टीभीएस स्पोर्ट मोटरसाइकलमा विभिन्न सामान लोड गरिएको अवस्थामा फेला परेको थियो। प्रहरी टोलीलाई देख्नेबित्तिकै मोटरसाइकल छाडेर संलग्न व्यक्तिहरू फरार भएका थिए।
मोटरसाइकलमा लोड गरिएका बोराहरू खोली जाँच गर्दा विभिन्न किसिमका किराना सामग्री तथा कपडाहरू बरामद भएको प्रहरीले जनाएको छ। बरामद सामान र तीनवटै मोटरसाइकलको अनुमानित मूल्य ३ लाख १६ हजार ५ सय ७५ रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
बरामद गरिएका सामान तथा मोटरसाइकल आवश्यक कानुनी कारबाहीका लागि राजविराज भन्सार कार्यालय, तिलाठी, सप्तरीमा बुझाइएको प्रहरीको प्रेस विज्ञप्तिमा उल्लेख छ।
प्रहरीले घटनामा संलग्न फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको जनाएको छ। साथै, सीमावर्ती क्षेत्रबाट हुने अवैध भन्सार छली तथा तस्करी नियन्त्रणका लागि नियमित निगरानी र चेकजाँचलाई अझ कडाइका साथ अघि बढाइने पनि प्रहरीले जनाएको छ।












