लहान, ६ साउन । सिरहाको लहान नगरपालिका–३ नयाँ बस्ती टोलबाट प्रहरीले ठूलो परिमाणमा गाँजा जस्तो देखिने लागूऔषधसहित एक पिकअप गाडी र तीन जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहान र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार अपराह्न करिब ४:३० बजे लहान–३ स्थित एक घरअगाडि पार्किङ गरी राखिएको बा.२१ च ५६६१ नम्बरको पिकअप गाडीमा खानतलासी गरेको थियो।
जाँचका क्रममा गाडीको पछाडिको भागमा नासपातीका प्लास्टिक क्रेटभित्र लुकाइराखिएको ३१ वटा बोरामा प्याक गरिएको गाँजा जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। प्लास्टिकसहित तौल गर्दा ६५३ केजी र प्लास्टिक हटाएर तौल गर्दा करिब ६५२ केजी लागूऔषध बरामद भएको जनाइएको छ। गाडीमा रहेका ४६ वटा नासपातीका क्रेट (करिब १२० केजी) समेत नियन्त्रणमा लिइएको छ।
घटनामा संलग्न रहेको आरोपमा लहान नगरपालिका–३ नयाँ बस्ती टोल निवासी ३८ वर्षीय श्यामकुमारी साह, भारतको बिहार राज्य मधुवनी जिल्ला घर भई हाल लहान–३ बस्दै आएका ४० वर्षीय गौरव महतो तथा उनका १९ वर्षीय छोरा शिवम साहलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
बरामद लागूऔषध, पिकअप गाडी तथा नियन्त्रणमा लिइएका तीनै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।














