राजविराज, ११ साउन । सप्तरीमा सर्पदंशबाट एक महिलाको मृत्यु भएपछि आफन्तजनले अस्पतालमा विरोध प्रदर्शन गरेका छन्। राजविराज नगरपालिका–१५ भरुवाकी ४२ वर्षीया कविता यादवको उपचारका क्रममा सोमबार गजेन्द्र नारायण सिंह अस्पताल, राजविराजमा मृत्यु भएको हो।
प्राप्त जानकारीअनुसार यादवलाई आइतबार साँझ सर्पले डसेपछि उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा उपचार भइरहेकै अवस्थामा सोमबार उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
महिलाको मृत्यु भएपछि आक्रोशित आफन्तजनले अस्पताल परिसरमा प्रदर्शन गर्दै उपचारमा लापरबाही भएको आरोप लगाएका छन्। उनीहरूले समयमै प्रभावकारी उपचार नपाएका कारण बिरामीको ज्यान गएको दाबी गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।
प्रदर्शनका क्रममा आफन्तहरूले अस्पताल प्रशासनविरुद्ध नाराबाजी गरेका थिए। केही समय अस्पताल परिसर तनावग्रस्त बनेपछि सुरक्षाकर्मी परिचालन गरिएको थियो।
अस्पताल प्रशासनले भने घटनाबारे औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन। घटनाको वास्तविक कारणबारे सम्बन्धित निकायबाट अनुसन्धान हुने जनाइएको छ।











