कञ्चनरूप, ११ साउन । जिल्ला प्रशासन कार्यालय सप्तरीले जिल्लामा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव तथा शान्ति–सुरक्षा कायम राख्न सबै नागरिकलाई जिम्मेवार बन्न आग्रह गरेको छ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाद्वारा जारी सूचनामा पछिल्लो समय देशका विभिन्न जिल्लामा भएका घटनालाई आधार बनाई सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, धर्म, आस्था, संस्कृति वा समुदायलाई लक्षित गरी घृणायुक्त अभिव्यक्ति दिने तथा सामाजिक सद्भाव बिथोल्ने गतिविधि बढ्दै गएकोप्रति प्रशासनको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।
प्रशासनले सप्तरी बहुजातीय, बहुभाषिक र बहुधार्मिक विशेषता बोकेको जिल्ला भएकाले यहाँको सामाजिक एकता, सद्भाव, सहिष्णुता र भ्रातृत्व कायम राख्नु सबै नागरिकको साझा दायित्व भएको जनाएको छ। त्यसका लागि सम्पूर्ण नागरिक, धार्मिक गुरु, नागरिक समाज, बुद्धिजीवी, सञ्चारकर्मी तथा सरोकारवाला निकायलाई संयमित र जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरिएको छ।
साथै, सामाजिक सञ्जाल वा अन्य माध्यमबाट धार्मिक भावना भड्काउने, समाजमा उत्तेजना फैलाउने, कानुनी व्यवस्था हातमा लिन उक्साउने वा सामाजिक सद्भाव खल्बल्याउने कुनै पनि गतिविधिमा संलग्न भए मुलुकी अपराध संहिता, २०७४ तथा विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कानुनी कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ।
जिल्ला प्रशासन कार्यालयले जिल्लामा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग सहयोग र संयमता अपनाउन पुनः अपिल गरेको छ।











